• ७ वैशाख २०८१, शुक्रबार

खेलसँगै विश्वको मन जितेको जापान

blog

काठमाडौं, मङ्सिर ८ गते । विश्वकपमा आफ्नो टोलीले जितेपछि समर्थकले के गर्लान् ? यस प्रश्नको सहज उत्तर तत्काल हुटिङ गर्ने, खेल जितेको खुशीयालीमा पार्टी र रमाइलो गर्ने । तर कतारमा जारी विश्वकपमा जापानका समर्थकले खेल जितेसँगै रङ्गशालाको प्यारापिटमा रहेका फोहोर सङ्लन गरेका छन् । 


खालिमा अन्तर्राष्ट्रिय स्टेडियममा बुधबार साँझ भएको खेलमा जापानले चार पटकको विश्वकप उपाधि विजेता जर्मनीलाई २–१ गोलले हरायो । जापानले विश्वकपमा पहिलो पटक जर्मनीलाई हराउँदै विश्वकपमा सुखद सुरुवात गर्दा जापानी समर्थकले खुशीसँगै खालिफा रङ्गशालाको फोहोर सङ्कलन गरेर उदाहरणीय छाप छोडेका छन् । 


खेलमा जर्मनीलाई जितेको जापानका समर्थकले विश्वभरका फुटबलप्रेमीको मन जितेका छन् । खेल सकिएपछि जापानी समर्थकले आफूले गरेको फोहोरसँगै अन्य दर्शकले गरेको फोहेरसमेत सङ्कलन गरिरहेको दृश्यले अहिले विश्वको ध्यान खिचेको छ । 


समूह ‘ई’ मा रहेको जापानलाई जिताउन रित्सु डोन र ताकुमा असनोले गोल गर्नुभएको थियो । जर्मनीका लागि इल्के गुन्डोगानले पहिलो हाफमा गरेको गोल सान्त्वना गोलमा परिणत भएको थियो । उत्कृष्ट पुनरागमन गर्दै जर्मनीलाई हराएको जापान तीन अङ्क जोड्दै समूहको दोस्रो स्थानमा छ ।

शीर्षस्थानमा रहेको स्पेनको पनि समान तीन अङ्क छ । बुधबार राति नै भएको खेलमा स्पेनले कोस्टारिकालाई ७–० गोलले हराएको थियो । एजेन्सी 



Author

खेल सकिएपछि रङ्गशालाको फोहोर सङ्कलन गर्दै जापानका समर्थक । तस्बिरहरु : गो कतार २०२२