• १३ साउन २०८१, आइतबार

काठमाडौंको नरदेवीबाट सुनका गरगहना चोरी, पेस्तोलसहित छ पक्राउ

blog

काठमाडौं, मङ्सिर ८ गते । काठमाडौं महानगरपालिका–१८ नरदेवीस्थित सुन बनाउने कारखानाबाट विभिन्न सुनका गरगहना चोरी भएको छ ।

घटनामा संलग्न रहेको अभियोगमा धादिङ खनियाबास गाउँपालिका–४ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका–२ गैरीगाउँ बस्ने ३८ वर्षीय मनिला तामाङसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

भारत घर भएका ३२ वर्षीय सेख मुस्तफा अली र ४५ वर्षीय गौतम माझीले सञ्चालन गरेको उक्त कारखानाबाट गत कात्तिक २९ गते राति विभिन्न सुनका गरगहना चोरी भएको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

साथै मनिला तामाङको डेरा कोठा तलासी गर्दा घटनामा प्रयोग भएको प्रदेश ३–०२–००१प ६२१७  नम्बरको मोटरसाइकल, घटनामा प्रयोग भएको पेस्तोल एक थान, सोही पेस्तोलमा लाग्ने गोली ४ राउण्डसहितको म्याग्जिन, जर्सी प्रहरीले बरामद गरेको छ । यसैगरी प्रहरी पोशाक एक जोर, नियन्त्रित लागूऔषध फेनारगन १९७ एम्पुल, डाइजेपाम १९७ एम्पुल र नुफिन १९७ एम्पुलसमेत फेला पारी प्रहरीले बरामद गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।