नविन सुवेदी
सुर्खेत, मङ्सिर ७ गते । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत-१ बाट प्रतिनिधि सभा सदस्यमा सुरुवाती अग्रता लिनुभएको छ । सुर्खेत–१ मा मंगलबार राति १२ बजेबाट मतगणना सुरु भएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार तीन हजार २३८ मत गणना हुँदा खड्काले १७ सय ७२ मत प्राप्त गर्नुभएको छ । यस्तै नेकपा एमालेका ध्रुवकुमार शाहीले १३ सय ५५ मत प्राप्त गर्नुभएको हो ।
यस्तै राप्रपाका छत्रपति थापाले ६६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मोहम्मद हसरत अलीले १७ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रदेशसभातर्फ पनि लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिनुभएको छ ।
प्रदेश ‘क’तर्फ नेपाली कांग्रेसका उम्मेदवार खड्का पोखरेलले दुई हजार २ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका ठम्मर विष्टले एक हजार ३२६ मत प्राप्त गर्नुभएको छ।
प्रदेशसभा ‘ख’बाट लोकतान्त्रिक बाम गठबन्धनका कृष्ण जिसी ‘जितेन्द्र’ अगाडि हुनुहुन्छ । माओवादी केन्द्रका उम्मेदवार जिसीले एक हजार १७८ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका डण्डीप्रसाद शर्माले ९२९ मत प्राप्त गर्नुभएको छ ।