• १५ असार २०८१, शनिबार

इलाम क्षेत्र नम्बर १ मतगणना सुरु हुन सकेन

blog

इलाम, मंङ्सिर ७ गते । इलाम क्षेत्र नम्बर १ मा मतपेटिकाको शीलको विषयमा विवाद भएपछि गएराति देखि स्थगित भएको मतगणना कार्य अझै सुरु हुन सकेको छैन । राति १२ बजेदेखि स्थगित मतगणना कार्यलाई सुचारु गराउन दलहरुबीच सहमतिको प्रयास जारी रहेपनि अझै सहमति भइनसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

एउटा मतपेटिका खोलिसकेपछि प्रदेशसभाका एक उम्मेदवारले रुजु नगराई मतपेटिका खोलिएको भन्दै मतगणना कार्य अस्वीकार गरेपछि गणना कार्य रोकिएको निर्वाचन अधिकृत राजकुमार दाहालले बताउनु भयो । ‘मतपेटिका खोल्न अघि उम्मेदवारका प्रतिनिधिलाई राखेर रुजु गराइने गरिएको छ । त्यो मतपेटिकालाई पनि रुजु गराएकै हो तर उम्मेदवारले रुजु नगरी मतपेटिका खोलियो भन्दै विवाद निकाल्नु भयो ।’ दाहालले भन्नुभयो ‘विवाद पछि स्थिति खलबलियो, पुनः दलका प्रतिनिधिबीच छलफल गराउने पटक–पटक प्रयास गरियो सहमति भएन तर, अझै हामी सहमतिको प्रयास गरिरहेका छौँ । आज देखि मतगणना जारी हुन्छ ।’ 

इलाम क्षेत्र नम्बर १ मा अहिले सम्ममा २३ हजार ८ सय ६५ मतगणना सकिएको छ । अहिले सम्ममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले ८ हजार ७ सय ८० मत प्राप्त भएको छ । खनाल नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेत भन्दा १५ सय सात मतले पछि रहनु भएको छ ।  बस्नेतले १० हजार २ सय ८७ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ ।

Author

कोकिला ढकाल