नवीन शिशिर विक
बागलुङ, मङ्सिर ५ गते । प्रतिनिधि सभाअन्तर्गत बागलुङका दुई वटै निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । बागलुङ निर्वाचन क्षेत्र नं. १ को जिल्ला समन्वय समितिको हल र निर्वाचन क्षेत्र नं. २ को बुर्तिवाङ बजारस्थित नयाँ सहरी आयोजनाको कार्यालयमा मतगणना सुरु भएको हो ।
क्षेत्र न. १ मा साढे चार बजे र क्षेत्र न. २ मा साढे तीन बजेदेखि मत गणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञ रिजालले जानकारी दिनुभयो ।
एकतर्फ प्रतिनिधिसभा र अर्कोतर्फ प्रदेशसभाअन्तर्गतको मत गणना गरिएको छ । निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी र नेकपा (एमाले) का डा.सूर्य पाठकबीच मुख्य प्रतिस्पर्धा छ । क्षेत्र न.२ मा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिव देवेन्द्र पौडेल र नेकपा (एमाले) मा नेत्री मञ्जु शर्मा चालिसेबीच मुख्य प्रतिस्पर्धा छ ।
दुवै क्षेत्रमा वडागत रूपमा मत गणना गरिएको छ । आइतबार भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कुल ५३.५६ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल एक लाख ९२ हजार २२७ मतदाता रहेको बागलुङमा एक लाख दुई हजार ९६३ मत खसेको निर्वाचन कार्यालयका प्रमुख रिजालले बताउनुभयो ।
गत स्थानीय तह निर्वाचनमा ६७ प्रतिशत मत खसेको थियो । निर्वाचन क्षेत्र न. २ मा ५५ प्रतिशत मत खसेको छ । बागलुङका दुई निर्वाचन क्षेत्रमा एक लाख ९२ हजार २२७ मतदाता छन् । यो २०७४ को चुनावमा भन्दा २४ हजार ९४५ ले बढी हो । २०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक लाख ६७ हजार २८२ मतदाता थिए ।