केशवचन्द्र महरा
दिपायल, मंसिर ५ गते । डोटीमा ५ बजे पछि मात्रै मतगणना हुने भएको छ । राजनैतिक दल तथा उम्मेदवारसँगको सर्वपक्षीय बैठकले ५ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरेको हो।
बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा दुवै तर्फको मतगणना एकै पटक सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिनुभयो ।
एउटा प्रतिनिधि सभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको डोटीमा ५१.१७ प्रतिशत मत खसेको थियो । २७ हजार ४५७ जना पुरुष र ३६ हजार ६०१ महिला मतदाता गरी जम्मा ६४ हजार ५८ मत खसेको थियो ।
"यसअघि प्रतिनिधि सभाको मात्रै मतगणना सुरु गर्ने तयारी भएको थियो", मुख्य निर्वाचन अधिकृत पाण्डेले भन्नुभयो,"बैठकमा तीन वटै निर्वाचन क्षेत्रको मतगणना एकै पटक सुरु गर्ने निर्णय भएका कारण थप तयारी गर्नु भएकाले ५ बजे देखि गणना सुरु गर्ने निर्णय भएको हो ।"