• १२ साउन २०८१, शनिबार

सोलुखुम्बुमा खुम्बुको मतपेटिका हेलिकप्टरबाट ल्याइएपछि मतगणना सुरु

blog

सोलुखुम्बु, मङ्सिर ५ गते । सोलुखुम्बुमा खुम्बु र लिखुपिकेको मतपेटिका सदरमुकाम आउन बाँकी रहेको छ । यी दुई क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ल्याइएपछि मतगणना सुरु गरिने भएको छ । 

जिल्लाको ११९ वटा मतदान केन्द्रहरूको मतपेटिका जिल्ला सदरमुकाम सल्लेरी आइपुगी सकेको छ । १३५ मतदान केन्द्र रहेको जिल्लामा लिखुपिके र खुम्बु पासाङल्हामु बाहेकका पालिकाहरूको सबै मतपेटिका मतगणना स्थल सल्लेरी आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खुम्बुको ११ वटा मतदान केन्द्र मध्ये वडा नम्बर १ क्षेत्रका २ वटा केन्द्रको मतपेटिका गाडीमार्फत सल्लेरी ल्याइएको छ भने बाँकी ९ स्थानको मतपेटिकाहरू सङ्कलन पश्चात् हेलिकप्टर मार्फत ल्याउने तयारी गरिएको छ ।

लिखुपिकेको ७ वटै मतदान केन्द्रको मतपेटिका किञ्जामा सङ्कलन गरेर राखिएकाले आज गाडीमार्फत ल्याउने सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीले जानकारी दिनुभयो । आठ पालिका भएको जिल्लामा सोलु दूधकुण्ड नगरपालिकामा ३३, थुलुङ दूधकोसी गाउँपालिकामा २६, माप्यदूधकोसीमा १७, नेचासल्यानमा १६, महाकुलुङमा १३, सोताङमा १२, खुम्बु पासाङल्हामुमा ११ र लिखुपिकेमा ७ वटा मतदान केन्द्र छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सोलुखुम्बुमा करिब ४८.३८ प्रतिशत मत खसेको छ । ८१ हजार ५०२ मतदाता रहेको जिल्लामा करिब ३९ हजार ४३३ मत खसेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।

Author

सन्तोष राउत