• ११ मंसिर २०८१, मङ्गलबार

स्थानीय तहको जस्तो देखिएन उत्साह

blog

सुदूरपश्चिम ब्युरो 

धनगढी, मङ्सिर ५ गते । प्रतिनिधि र प्रदेश सभा सदस्यको आइतबार सम्पन्न निर्वाचनमा मतदाताको उत्साह निकै कम देखिएको छ । गत वैशाखको स्थानीय तहको चुनावमा केही जिल्लामा ७० प्रशितसम्म मतदान भएकोमा यस पटक कैलालीमा ६३, डडेल्धुरामा ५२, बैतडीमा ६०, दार्चुलामा ६५, अछाममा ५५, कञ्चनपुरमा ६२ र डोटीमा ५१.९ प्रतिशतले मतदान गरेका छन्।

बाजुरामा विवादका कारण केही केन्द्रको मतदान नै स्थगित छ भने बझाङमा खसेको मतको प्रतिशत सार्वजनिक भएको छैन। एक हजार १६१ मतदान स्थल रहेको सुदूरपश्चिमका नौ जिल्लामा दुई हजार १४६ मतदान केन्द्र निर्धारण गरिएको थियो।

चार ठाउँमा विस्फोटक पदार्थ निष्क्रिय

टीकापुर समाचारदाताका अनुसार निर्वाचनको पूर्वसन्ध्यामा टीकापुरका चार स्थानमा फेला परेका विस्फोटक पदार्थ नेपाली सेनाले निष्क्रिय पारेको छ। टीकापुर बहुमुखी क्याम्पस, वीरेन्द्र विद्या मन्दिर मावि, जनजागृति मावि सीतापुर मतदान केन्द्र र नगरपालिका भवन नजिक ती वस्तु फेला परेका थिए। कसैले मतदाता तर्साउने उद्देश्यले राखेका वस्तुहरू संवेदनशील क्षेत्रको सूचीमा रहेको स्थानमा खटिएको नेपाली सेनाको टोलीले राति नै ती क्षेत्रको पहिचान गरी विस्फोटक पदार्थ निष्क्रिय पारेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरन थापाले जानकारी दिनुभयो। दुई ठाउँका वस्तु निष्क्रिय पार्ने क्रममा ठूलो आवाज आएको थियो। 

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले सुरक्षा व्यवस्था चुस्त भएका कारण राति नै ती वस्तु फेला पारेर निष्क्रिय बनाएको बताउनुभयो। टीकापुरमा सबैभन्दा बढी २२ हजार चार जना मतदाता भएको एउटै वडा नम्बर १ का मतदान केन्द्र नजिक यस्ता गतिविधि हुनु मतदातालाई तर्साउन गरिएको गतिविधि हुन सक्ने आशङ्का गरिएको छ । केही राजनीतिक दलले यस पटकको निर्वाचनलाई बहिष्कार गर्ने यसअघि नै घोषणा गरेका थिए।

धनगढी समाचारदाताका अनुसार स्थानीय तह निर्वाचन सम्पन्न भएको छ महिनापछि भएको आमनिर्वाचनमा स्थानीय तह निर्वाचनको जस्तो मतदातामा उत्साह नदेखिएको हो। यो निर्वाचनमा उम्मेदवार पनि कम रहेका कारण मतदातामा त्यति उत्साह नदेखिएको कैलारी गाउँपालिका–७, तिघरीका चन्द्रप्रसाद चौधरीले बताउनुभयो। 

“यो चुनावमा स्थानीय तहकोजस्तो चहलपहल देखिएन,” उहाँले भन्नुभयो, “निर्वाचनमा सहभागी हुने मतदाता पनि पहिलेको भन्दा कमै देखिए।” ग्रामीण मतदाताले यो निर्वाचनलाई त्यति चासो नदिएको वा धेरै मतदाता कामका लागि अन्यत्रतिर गएका कारणले पनि चुनावमा त्यति चहलपहल नभएको हुन सक्ने चौधरीको बुझाइ छ। ग्रामीण क्षेत्रका धेरैजसो मतदान केन्द्रमा आधा मात्रै मत खसेको अनुमान गरिएको स्थानीयको भनाइ छ। “बिहान भोट हाल्नेको अलि बढी भीडभाड देखिए पनि दिउँसोबाट भजनीका धेरैजसो मतदान केन्द्र खाली भएका थिए,” स्थानीय रवि चौधरीले भन्नुभयो, “यो निर्वाचनलाई मतदाताले त्यति गम्भीरतापूर्वक नलिएको जस्तो लाग्यो।” 

कैलाली २ र ३ मा निर्बाध मतदान 

घोडाघोडी समाचारदाताका अनुसार कैलाली क्षेत्र नम्बर ३ मा आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ। निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले तोकिएको समय बिहान ७ बजे सुरु भई साँझ ५ बजेसम्म मतदान कार्य निर्बाध रूपमा सम्पन्न भएको जानकारी दिनुभयो। ४५ मतदान स्थलका १२७ मतदान केन्द्रबाट ३ नम्बर क्षेत्रका मतदाताले मतदान गरेका थिए। एक लाख सात हजार ६५९ मतदाता रहेको सो क्षेत्रमा ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ। ३ नम्बर क्षेत्रमा १८ वर्षका युवादेखि ९७ वर्षका वृद्धाले मतदान गरेका छन्। घोडाघोडी नगरपालिका–४, सुन्दरपुरका ९७ वर्षीया चन्द्रप्रसाद सापकोटाले नातिको सहायताले मतदान गरेको बताउनुभयो। 

उहाँले जनज्योति आधारभूत विद्यालय सिम्थरी मतदान स्थलमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो। गएका चुनावमा जस्तो यस पटकको चुनावमा मतदाताको उत्साह घटेको बताइए पनि पहिलो पटक मतदान गर्ने युवाको उपस्थिति भने उत्साहजनक थियो। घोडाघोडी–१ का सपना ढकालले संसदीय चुनावमा पहिलो पटक मतदान गरेको अनुभव सुनाउनुभयो। अपाङ्गता, अल्पसङ्ख्यक, मुक्तकमैयालगायतले मतदानमा भाग लिएका छन्। घोडाघोडी–८ मा रहेको अल्पसङ्ख्यक राजी समुदायका ७० जनाले समेत मतदान गरेका छन्। राजी समुदायका अगुवा दुर्गा राजीले मेलघट्टी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर आफूहरूले मतदान गरेको बताउनुभयो। 

उहाँले हाम्रो भन्दा नि राम्रोलाई चुन्ने हिसाबले मतदान गरेको प्रतिक्रिया दिनुभयो। चुनावमा जस्तो परिणाम आए पनि आफूहरू जस्ता अल्पसङ्ख्यकको रोजगारीको व्यवस्था गर्ने नीति, कार्यक्रम ल्याउन आग्रह गर्नुभयो। त्यसैगरी क्षेत्र नं. २ मा छिटपुट रूपमा सामान्य विवाद भए पनि समाधान गर्दै मतदान निर्बाध सम्पन्न भएको निर्वाचन अधिकृत तेजप्रकाश जोशीले बताउनुभयो। कैलाली क्षेत्र नम्बर २ मा ५१ वटा मतदान स्थलमा रहेका १२२ मतदान केन्द्रबाट मतदान भएको छ। एक लाख पाँच हजार मतदाता रहेको क्षेत्र नम्बर २ मा पनि ५५ प्रतिशतको हाराहारीमा मत खसेको जनाइएको छ। क्षेत्र नम्बर २ को मतगणना स्थल लम्कीचुहा नगरपालिका भवनमा राखिएको छ भने ३ नम्बर क्षेत्रको मतगणनास्थल घोडाघोडी बहुमुखी क्याम्पसको हलमा राखिएको छ। कैलालीका पाँच निर्वाचन क्षेत्रमा ५२९ मतदान केन्द्रमा तोकिएकै समयमा मतदान सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेम भट्टले बताउनुभयो। उहाँले पाँच लाख ३५ हजार ५१४ मतदाता रहेको कैलालीमा अनुमानित ६० प्रतिशत मत खसेको जनाउनुभयो।

मन्त्री बडूद्वारा मतदान 

दार्चुला समाचारदाताका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दार्चुलामा उत्साहजनक रूपमा मतदान भइरहेको छ। धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको लाम लागेको थियो। 

दार्चुलाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको मतदान केन्द्र एउटै छ। दार्चुला सदरमुकाम खलङ्गास्थित अपिनाम्पा संरक्षण क्षेत्र परिसरको मतदान केन्द्रमा मन्त्री बडूले मतदान गर्नुभएको हो। मन्त्री बडूको घर महाकाली नगरपालिका वडा नम्बर ५ को नमस्कार हो भने पूर्वमन्त्री ठगुन्नाको घर सोही वडाको किम्तडी हो। नौवटा स्थानीय तह रहेको दार्चुलामा पुरुष ४५ हजार ५४३ र महिला ४३ हजार ६११ गरेर कुल ८९ हजार १५४ मतदाता रहेका छन्।

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार मतदान सम्पन्न भएपश्चात् आइतबार बेलुकी नै मतपेटिका सदरमुकाम खलङ्गा ढुवानी भइरहेको छ। गाडी पुग्ने ठाउँमा मतपेटिका ढुवानीका लागि बसको व्यवस्था गरिएको र यातायातको पहुँच नभएको ठाउँबाट सडकमार्गसम्म मानिसले बोकेर मतपेटिका सङ्कलन गर्ने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत खेमराज भट्टले बताउनुभयो। मतपेटिका सङ्कलन भइसकेपछि मतगणना कार्य जिल्ला सदरमुकाम खलङ्गास्थित महेन्द्र नमुना माविमा हुने बताइएको छ।