• २३ वैशाख २०८१, आइतबार

लगानी बराबरकै लाभांश फिर्ता

blog

काठमाडौँ, मङ्सिर ५ गते । नेपालमा भित्रिएको विदेशी लगानी बराबर नै लगानीकर्ताले लाभांश फिर्ता लगेको पाइएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक (असोज)सम्मको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार विदेशी लगानीकर्ताले तीन महिनामा एक अर्ब ८० करोड रुपियाँ लाभांश लगेका हुन्। जब कि सोही अवधिमा नेपालमा केवल एक अर्ब ८८ करोड रुपियाँको विदेशी लगानी भित्रिएको तथ्याङ्कले देखाउँछ। यस हिसाबले नेपालमा भित्रिएको लगानीभन्दा फिर्ता लगेको लाभांश केवल आठ करोड रुपियाँले मात्र कम हो; जुन लगानी र लाभांश फिर्ताको अनुपातमा अत्यन्त न्यून हो। 

लगानीकर्ताले तीन महिनामा लगेको लाभांश विगत दुई वर्षकै कुल लाभांशभन्दा पनि बढी हो। गत आवमा लगानीकर्ताले कुल ६५ करोड ८७ लाख रुपियाँ मात्र लाभांश फिर्ता लगेका थिए। गत आवको तीन महिनामा भने २३ करोड १५ लाख रुपियाँ मात्र लाभांश फिर्ता लगेको तथ्याङ्कले देखाउँछ। 

त्यसअघि आव २०७७/७८ मा लगानीकर्ताले कुल ३९ करोड ६७ लाख रुपियाँ मात्र लाभांश लगेका थिए। सोही आवको तीन महिनामा जम्मा ५४ लाख रुपियाँ मात्र लाभांश फिर्ता भएको देखिन्छ। 

चालू आवको असोजसम्म फिर्ता भएको लाभांश गत आवको तुलनामा एक अर्ब १४ करोड रुपियाँले बढी हो। त्यस्तै गत आवकै असोजसम्मको तुलनामा एक अर्ब ५७ करोड रुपियाँले बढी हो। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अनुसार विदेशी लगानीकर्ताले चाहेमा प्रचलित नेपाल कानुनबमोजिम लाग्ने सबै कर भुक्तान गरी विदेशी लगानीबाट प्राप्त मुनाफा वा लभांशबापतको रकम नेपाल राष्ट्र बैङ्कको स्वीकृति लिई परिवत्र्य विदेशी मुद्रामा फिर्ता लैजान पाउँछन्। 

समीक्षा अवधिमा नेपालमा भित्रने विदेशी लगानी पनि घटेको पाइएको छ। तथ्याङ्कअनुसार गत आवको असोजसम्मको तुलनामा नेपालमा ६४ प्रतिशतले विदेशी लगानी घटेको पाइएको छ। गत आवको असोजसम्म नेपालले पाँच अर्ब ३० करोड रुपियाँ लगानी भित्र्याएको थियो। यो चालू आवमा भित्रिएको विदेशी लगानीको तुलनामा तीन अर्ब ४१ करोड रुपियाँले बढी हो। गत आवभर भने नेपालले १९ अर्ब २१ करोड रुपियाँ विदेशी लगानी भित्र्याएको थियो। यस हिसाबले नेपालमा विदेशी लगानीमा सङ्कुचन आएको देखिन्छ। 

लाभांशबाहेक समीक्षा अवधिमा यातायात, भ्रमण र शिक्षा शीर्षकमा पनि ठूलो मात्रामा रकम बाहिरिएको देखिन्छ। तथ्याङ्कअनुसार असोजसम्म यातायात शीर्षकमा नेपालबाट २२ अर्ब ३९ करोड रुपियाँ बाहिरिएको थियो। त्यस्तै भ्रमण शीर्षकमा २६ अर्ब रुपियाँ बाहिरिँदा वैदेशिक शिक्षाका लागि १७ अर्ब ८८ करोड रुपियाँ बाहिरिएको देखिन्छ। नेपालबाट सबैभन्दा धेरै आयातका लागि रकम बाहिरिने गर्छ। तीन महिनासम्म नेपालबाट वस्तु आयातका लागि तीन खर्ब ८८ करोड रुपियाँ बाहिरिएको छ। आयातकै लागि ठूलो रकम बाहिरिँदा मुलुकको चालू खाता तीन महिनासम्म ३४ अर्ब रुपियाँले घाटामा रहेको छ।