• २५ वैशाख २०८१, मङ्गलबार

पदार्पण खेल अविस्मरणीय बनाउने दाउमा कतार

blog

दोहा, मङ्सिर ४ गते । खेलकुदमा घरेलु मैदानमा खेल्ने आयोजकलाई ठूलो फाइदा पुग्छ। घरेलु समर्थक र मैदानको फाइनलमा साना टिमले पनि ठूला टिमलाई स्तब्ध पारेको कैयौँ इतिहास छ। विश्वकपको कुरा गर्ने हो भने छ पटक आयोजक राष्ट्रले पनि विश्वकप जितेको तथ्य भेट्टाउँछौँ। सन् १९३० मा उरुग्वे, सन् १९६६ मा इङ्ग्ल्यान्ड, सन् १९७४ मा पश्चिम जर्मनी, सन् १९७८ मा अर्जेन्टिना र सन् १९९८ मा फ्रान्स आफ्नै घरेलु भूमिमा खेलेर च्याम्पियन बनेका थिए तर सन् १९९८ पछिको विश्वकपले आयोजकलाई साथ दिएको छैन। अझ यसपालि कतारले विश्वकप जित्ने भ्रममा सायदै कोही होला। कतार पहिलो पटक विश्वकप खेल्दै छ, त्यो पनि आयोजकका रूपमा तर कतार कमजोर छैन। कतार एसियाली च्याम्पियन टिम हो। घरेलु मैदानमा कतारको प्रमुख लक्ष्य नकआउट चरणमा पुग्ने हुनेछ। कतारको अर्को लक्ष्य सफल आयोजना गरेर विश्वको मन जित्नु नै हुनेछ। यसबाहेक एसियाका अन्य राष्ट्र, उत्तर अमेरिकी टिम र अफ्रिकी राष्ट्रको लक्ष्य लामोभन्दा लामो यात्रा तय गर्ने नै हुनेछ।

अहिलेसम्म विश्वकपका एक राष्ट्र मात्र आयोजक राष्ट्र समूह चरण पार गर्न असफल भएको छ। सन् २०१० मा दक्षिण अफ्रिका घरेलु मैदानमा खेले पनि समूह चरणबाट अघि बढ्न सकेन। कतारको प्रमुख लक्ष्य नकआउट चरण पुग्न असफल दोस्रो राष्ट्र नबन्नेमा रहनेछ। कतारले आयोजकको नाताले स्वतः विश्वकप खेल्ने अवसर पाएको हो। त्यसैले समूह ‘ए’मा रहेको कतारले आइतबार राति इक्वेडरसँग उद्घाटन खेलमा खेल्दा अग्निपरीक्षा हुने पक्का छ। 

स्पेनका प्रशिक्षक फेलिक्स सान्चेजले सन् २०१७ देखि कतारको टिमको रेखदेख गरिरहनुभएको छ। कतारका प्रशिक्षक सान्चेजले अन्य टिम कठिन छनोट चरण पार गरेर कतार पुगेको तर आफ्नो टिम कम नभएको धारणा राख्नुभयो। उहाँ भन्नुहुन्छ, “यदि हामीले सर्वश्रेष्ठ प्रदर्शन ग¥यौँ भने जित्न सक्छौँ। फिफा वरीयतामा नजर गर्ने हो भने पनि कतारलाई विश्वकपको पदार्पणमा नै खेल जित्ने मौका छ। फिफा वरीयतामा ४४औँ स्थानमा रहेको इक्वेडर पाँच स्थानले मात्र कतारभन्दा माथि छ।

कतारले विश्वकपका लागि राम्रो तयारी पनि गरेको छ । कतारले सन् २०१९ मा एसिया कप जितेर आफूलाई प्रमाणित गरिसकेको छ। सन् २०१९ मा कोपा अमेरिका र सन् २०२१ मा कन्केकाफ गोल्डकप कतारले आमन्त्रित टिमका रूपमा पनि खेलेको थियो। यी दुवै कठिन महादेशीय प्रतियोगितामा कतारको प्रदर्शन सम्माजनक रहेको थियो। दक्षिण अमेरिकी महादेशीय प्रतियोगिता कोपामा अर्जेन्टिनासँग कतार २–० ले हारेको थियो। कन्केकाफ गोल्डकपमा कतारको यात्रा सेमिफाइनलमा अमेरिकासँग १–० ले हारेपछि सकिएको थियो। यसैगरी कतारले खेल अनुभवका लागि युरोपमा दस मैत्री खेल खेलेको थियो। कतारले लक्जेम्बर्ग र अजरवैजानलाई पराजित गरेको थियो भने सर्बिया र पोर्चुगलसँग पराजित भएको थियो। यसैगरी गत सेप्टेम्बरमा कतारले चिलीसँग २–२ ले बराबरीमा खेलेको थियो भने ग्वाटेमालालाई २–० ले हरायो। क्यानडासँगको मैत्री खेलमा भने कतार २–० ले हारेको थियो।

कतारले आफ्नो टिमलाई खेलमा ५–३–२ को ढाँचामा खेलाउन मन पराउँछ, जुन संरचना हेर्दा कतार धेरै प्रत्याक्रमणमा गोल गर्ने अवसर खोज्ने टिमका रूपमा रहेको छ। कतारको टिममा हाइप्रोफाइल खेलाडी छैनन् तर सर्वाधिक अनुभवी खेलाडी हसन अल हेडस र स्ट्राइकर अलमोइज अलीको उपस्थितिमा कतारले पहिलो खेलमा इक्वेडरविरुद्ध उलटफेर नगर्ला भन्न सकिन्न। अली कन्केकाफ गोल्डकप र एसियन च्याम्पियन बन्दा सर्वाधिक गोलकर्ता हुनुहुन्थ्यो। सो टिममा छोटो समयका लागि बेल्जियम र स्पेनका लागि खेलिसकेका अक्रम आफिफ पनि हुनुहुन्छ।

इक्वेडर जितको दाबेदार

कतारको पहिलो खेलको विपक्षी इक्वेडरले पहिलो बाधा पार गर्ने अनुमान गरिएको छ। अर्जेन्टिनाका प्रशिक्षक गुस्ताभा अल्फारोको टिम इक्वेडरले पछिल्लो पटक कोपा अमेरिका खेल्दा समूहको अन्तिम स्थानमा रहेको थियो। विश्वकप दक्षिण अमेरिकी छनोट प्रतियोगितामा पनि इक्वेडर घरेलु टिममा शानदार प्रदर्शन गरी सफल भएको हो। इक्वेडर पेरु, चिली र कोलम्बियाजस्ता हेभिवेट टिमलाई हराएर विश्वकपमा चयन भएको हो।

इक्वेडरको युवा तथा शारीरिक रूपमा बलियो टिमको घरेलु मैदान कुइटो समुद्र सतहभन्दा २,८५० मिटर माथि छ। जुन अल्टिच्युडमा इक्वेडरले २६ मध्ये १८ अङ्क हासिल गरेको थियो। कतारमा इक्वेडरलाई सो अल्टिच्युडको फाइदा हुने छैन। यद्यपि इक्वेडरका डिफेन्डर पियरो हिन्कापी विन्गर गोन्जालो प्लाटा, मोइसेस काइसेडो र स्ट्राइकर इनर भ्यालेन्सिया विश्वस्तरीय खेलाडी हुनुहुन्छ। 

गत सेप्टेम्बरमा विश्वकप तयारीस्वरूप इक्वेडरले सउदी अबर र जापानविरुद्ध मैत्री खेल खेलेको थियो तर ती दुवै खेलमा इक्वेडरको अग्रपङ्क्तिमा ठूलो प्रश्न उठेका थियो। भ्यालेन्सियाले दुवै खेलमा गोल गर्न सक्नुभएन। 

इक्वेडर आठ वर्षपछि विश्वकपमा फर्केको हो। इक्वेडरले २००२, २००६ र २०१४ गरी तीन पटक विश्वकपमा स्थान बनाएको छ तर एक पटक मात्र इक्वेडरले समूह चरण माथि स्थान बनाउन सकेको छ। १६ वर्षअघि इक्वेडर नकआउट चरणमा पुगेको थियो। सो समय जितेको एक खेल इक्वेडरले विश्वकपमा हासिल गरेको एक मात्र जितेका रूपमा रहेको छ । एजेन्सी