• २५ वैशाख २०८१, मङ्गलबार

सर्विया र इजिप्ट विजयी

blog

विश्वकपअघि मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दै सर्विया र बहराइनका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, मङ्सिर ३ गते । कतारमा आइबारदेखि सुरु हुने फिफा विश्वकपअघि खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सर्विया र इजिप्ट विजयी भएका छन् । शुक्रबार राति भएको खेलमा सर्वियाले बहराइनलाई उसैको मैदानमा ५–१ गोलले हरायो । अर्को खेलमा इजिप्टले बेल्जियमलाई २–१ गोलले हरायो । इजिप्ट विश्वकप छनोटबाट बाहिरिएको टोली हो । 

सर्वियाको जितमा डुसान टाडिचले दुई गोल गर्नुभयो । डुसान भ्लाहोभिच, फिलिप जुरुसिस र लुका जोभिचले एक एक गोल थप्नुभयो । बहराइनका अब्दुल्लाह युसुफ हेलालले सान्त्वना गोल फर्कानुभयो । विश्वकपमा सर्विया समूह ‘जी’ मा छ ।

यस समूहमा ब्राजिल, क्यामरुन र स्वीट्जरल्यान्ड छन् । सर्वियाले मङ्सिर ८ गते ब्राजिलसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । यसैगरी विश्वकप टोली बेल्जियमलाई हराउन इजिप्टका मोस्तफा मोहमेद र ट्रेजग्वेटले गोल गर्नुभयो ।

बेल्जियमका आइकोमा लुइस ओपेन्डाले एक गोल फर्काउनुभयो । विश्वकपमा बेल्जियम समूह ‘एफ’ मा छ । यस समूहमा क्यानडा, मोरोक्को र क्रोएसिया छन् । बेल्जियमले मङ्सिर ७ गते क्यानडासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । एजेन्सी