• १३ असोज २०८१, आइतबार

आशिष र इन्डिरालाई स्वर्ण

blog

काठमाडौं, मंसिर १ गते । आयोजक नेपाल एपीएम प्रालिका आशिष् महता र नेपालकी इन्दिरा पराजुलीले दोस्रो एपीएम अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जित्नुभएको छ । आशिषले यू–१६ सिंगल्स तथा इन्दिराले महिला ४० वर्षमाथि भेट्रान सिंगल्समा स्वर्ण जित्नुभएको हो । 

भैसेपाटीस्थित आयोजक एपीएमको हलमा भएको यू–१६ फाइनलमा आशिषले बुटवलका विसु सुनारलाई ७–११, ११–५, ११–३ र ११–६ को  सेटमा पराजित गर्नुभयो । एपीएमकी योङगी पौडेल र दक्षिण कोरियाकी पार्क संयुक्त रूपमा तेस्रो हुनुभयो। यो स्पर्धा ब्वाइज/गल्र्सलाई मिसाएर खेलाइएको थियो । शीर्ष तीन स्थान हात पार्नेले जिओमद्वारा प्रायोजित टेबलटेनिस खेल सामाग्री प्राप्त गर्ने छन् ।

यू–१६ मा सहभागी ब्वाइज/गल्र्समा जम्मा ३० खेलाडीलाई प्रतिस्पर्धा अघि ओलम्पिकको टेबलटेनिसमा स्वर्ण जितेकी याङ योङ जाले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा सहभागीबीच नै प्रतिस्पर्धा गराइएको हो ।

महिला भेट्रान ४० वर्षमाथि सिंगल्सको फाइनलमा इन्दिराले नेपालकै सम्झना पोखरेललाई ११–३, ११–३, ११–३ को सोझो सेटमा हराउनुभयो । नेपालकी सरिता बस्नेत र दक्षिण कोरियाकी इम ए सुक तेस्रो बन्नुभयो । 

पुरुष ६० वर्षमाथि नेपालका रञ्जन सुब्बा पहिलो हुनुभयो । उहाँले फाइनलमा दक्षिण कोरियाका नाम साङ वनलाई ३–११, ११–९, ११–७, १४–१२ को सेटमा पाखा लगाउनुभयो। नेपालका आनन्द धाक्वा र जगदीश्वर जोशीले तेस्रो स्थानमा चित्त बुझाउनुभयो ।

प्रतियोगितामा पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । सबै स्पर्धाका विजेताले ५० हजार, उपविजेताले २० हजार तेस्रोले १०–१० हजार रुपियाँ पुरस्कार पाउने छन् ।प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, चीन र भारतका गरी जम्मा ८० खेलाडी सहभागी छन् । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ  ।