काठमाडौँ, वैशाख ३१ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले मिसन एसियाड–२०२६ को बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई आगामी एसियाडमा दोहोरो अङ्कमा स्वर्ण पदक जित्ने लक्ष्यमा साथ दृढ भएर लाग्न अनुरोध गर्नुभएको छ ।
राखेपले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक विमोचन गर्दै बुधबार सदस्यसचिव घिसिङले नेपालको इतिहासमा एसियाड पछि अर्को एसियाडको तयारी सुरु गरिएको पहिलो पटक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘हरेक एसियाड पछि खेलाडीले विमान स्थलमा बोल्ने शब्द तयारी पुगेन भन्नेहुन्थ्यो । राखेपले त्यसैलाई मध्यनजर गरेर पदकको सम्भावना रहेका खेलाडीलाई सेवा र सुविधासहितको प्रशिक्षण दिईरहेको हो । अब सकिन्न भनेर खेलाडीलाई छुटकारा (एक्सक्युज) हुने छैन । पदक जित्ने खेलाडीलाई पुरस्कारको हिसावले पनि कानुनी ब्यवस्था गरिएको छ । प्रशिक्षणमा केही कमजोरी छ भने अझै सुधार गर्न सकिन्छ ।’’
यस्तै कार्यक्रममा मिसन–२०२६ का निर्देशक दीपक विष्टले खेलाडीले आफु र राष्ट्रको लागि पदक जित्ने हिसावले अनुशासनमा रहेर तयारी गर्न आग्रह गर्नुभयो ।
ओलम्पियन बैकुण्ठ मानन्धरले पहिलाको तुलनामा नेपाली खेलाडीले धेरै सेवा र सुविधा पाएको उल्लेख गर्दै देशको प्रतिनिधित्व गर्ने खेलाडीले आफुलाई पदक जित्ने हिसावले अगाडि बढ्न सुझाव दिनुभयो ।
राखेपले लामो समय देखि सन् २०२६ मा जापानमा आयोजना हुने एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदक ल्याउने लक्ष्यका साथ १२ खेलका खेलाडीलाई बन्द प्रशिक्षणमा राख्दै आएको छ । प्रशिक्षणमा रहेका खेलाडीलाई खानपान र भत्तासहित राम्रा प्रशिक्षकले प्रशिक्षण दिँदै आएका छन् ।
ओलम्पिकमा नेपाल सार्वजनिक
राखेपले प्रकाशन गरेको ओलम्पिकमा नेपाल नामक पुस्तक बुधबार नै विमोचन गरिएको छ ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङ तथा ओलम्पियनहरु बैकुण्ठ मानन्धर, जितबहादुर केसी, दीपक विष्ट, विष्णुबहादुर सिंह लगायत १५ जना ओलम्पियनहरुले संयुक्त रुपमा पुस्तकको सार्वजनिक गर्नुभएको हो । पुस्तकमा ओलम्पिकमा नेपाल सहभागी भएको सन १९६४ देखि २०२४ को पेरिस सम्मको इतिहास समेटिएको छ ।
साथै पारालिम्पिक, समर तथा ग्रीष्मकालिन ओलम्पिक र युथ ओलम्पिकमा नेपालबाट सहभागी भएका खेलाडीहरुको संक्षिप्त जानकारी तथा उपलव्धी समेटेर पुस्तक प्रकाशन गरिएको राखेप प्रचार शाखा प्रमुख खुशराज दाहालले जानकारी दिनुभयो ।