• ११ मंसिर २०८१, मङ्गलबार
blog

कास्की समाचारदाता

कास्की, मङ्सिर १ गते ।  पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि उपयुक्त ल्यान्डफिल्ड साइटको खोजी भइरहेको जनाएको छ। महानगरपालिका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जालहरूमा गरिएको हल्लाजस्तो तत्काल कुनै पनि स्थानका बारेमा निर्णय भइनसकेको स्पष्ट पार्नुभयो। 

फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल्ड साइटको खोजी चुनौतीको विषय भएको बताउँदै प्रमुख आचार्यले अहिलेसम्म विभिन्न सात स्थानको अध्ययन गरिसकेको भए पनि निर्णय भइनसकेको जानकारी दिनुभयो। 

आगामी जनवरी १ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएकाले पोखरा महानगरपालिकाले तत्कालै ल्यान्डफिल्ड साइटको व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ। ल्यान्डफिल साइटबारे निर्णय भइनसकेको विषयमा अनावश्यक रूपमा सामाजिक सञ्जालमा भ्रम छर्ने काम नगर्न उहाँले सम्बन्धित सबैलाई आह्वान गर्नुभएको छ। 

हाल पोखरा १४ को ल्यान्डफिल्ड साइटमा जसरी डम्पिङ गर्ने गरी फोहोरको व्यवस्थापन नगरिने उहाँले स्पष्ट पार्नुभयो। “साँचो कुरा के हो भने अहिले हामीले वडा नं. १४ मा जस्तो गरेर डम्पिङ साइट बनाउने होइन, अब जुनसुकै साइटमा राखे पनि त्यसलाई व्यवस्थित हिसाबले प्रशोधन केन्द्रसहित राखिन्छ,” उहाँले भन्नुभयो। 

त्यो औद्योगिक क्षेत्रभित्र पनि राख्न सकिन्छ, बस्तीकै बीचमा पनि राख्न सकिन्छ, त्यसकारण यसको विषयमा तर्सनु पर्ने कुनै कारण छैन, प्लान्टकस्तो राख्ने भन्ने विषयमा सार्वजनिक सुनुवाइ नै गरेर जानकारी दिने भनाइ पनि उहाँको छ। 

कुनै निर्णय नै नभएको कुरालाई अतिरञ्जित गरी नागरिकमा भ्रम सिर्जना गर्ने कार्य तत्काल बन्द गर्न उहाँले सचेत गराउनुभयो। पोखराको फोहोर व्यवस्थापनदेखि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्मका महत्वपूर्ण कुराहरू पोखरेली जनताको साझा विषय भएकाले सबैको साथ र समर्थन आवश्यक पर्ने उहाँले बताउनुभयो। 

राजनीतिक दल, स्थानीय सामाजिक सङ्घसंस्था, नागरिक समाज सबैले यसको अपनत्व लिने गरी महानगरले काम गर्ने प्रमुख आचार्यले बताउनुभयो। 

‘क्यालिब्रेसन फ्लाइट’को अन्तिम तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आफूहरूले पूरै सहयोग गर्ने उहाँले प्रतिबद्धतासमेत प्रकट गर्नुभयो। 

“हाल रिट्ठेपानीको डाँडा कटानको काम भइरहेको छ, त्यहाँको माटोले सञ्चालनमा रहेको ल्यान्डफिल्ड साइट पुर्ने काम जारी छ, केही दिनमा क्यालिब्रेसन फ्लाइटसमेत हुँदै छ,’’ प्रमुख आचार्यले भन्नुभयो। महानगर ल्यान्डफिल्ड साइटको व्यवस्थापन गर्ने क्रममै रहेको छ, यसो गर्दा केही अल्पकालीन र केही दीर्घकालीन हिसाबले ल्यान्डफिल्ड साइटको व्यवस्थापन गरिनेछ। सुरुमा अल्पकालीन र पछि दीर्घकालीन व्यवस्थापन गरिने उहाँले बताउनुभयो।