मुसीकोट समाचारदाता
रुकुमपश्चिम, मङ्सिर १ गते । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४, खारा पोखरीगाउँकी ५७ वर्षीया भीमकला खड्कालाई चुनावी माहोलले छोएको छैन । सशस्त्र द्वन्द्वको बेला पति गुमाएकी खड्कालाई घरधन्दाकै चटारो छ । खड्काले भन्नुभयो, “पहिला चुनावको बेला घरघरमा उम्मेदवार, नेता, कार्यकर्ता आउँथे, द्वन्द्वपीडितका लागि धेरै गर्छौं भन्थे । अब त हामी बेवास्तामा परिम्, चुनावी रौनक छैन, गाउँमा ।”
त्रिवेणी गाउँपालिका–३, कुरल गाउँकी ६६ वर्षीया राती ओलीलाई पनि चुनावी माहोलले तानेको छैन । द्वन्द्वको बेला पति र एक छोरा गुमाएकी ओलीलाई चुनावमा नेताले दिने आश्वासनप्रति शङ्का लाग्छ । ओलीले भन्नुभयो, “बिहान घरको काम, दिउँसो घाँसपात र गोठालो गर्नुबाहेक
अरू विकल्प छैन हाम्रो । पहिला द्वन्द्वपीडित भनेर अगाडि लगाउँथे, सबै पार्टीले योजना सुनाउँथे, अब त हामी नचाहिनेजस्तै भयौंँ । हामी निर्वाचनप्रति नै निराश भएका छौँ ।”
२०५६ फागुन १० गते तत्कालीन पोखरी र कुरल (साबिक खारा) गाउँका १५ जना सर्वसाधारणको हत्या भएको थियो । राज्यपक्षबाट १५ जनालाई लाइन लगाएर गोली हानिएको काण्ड, ७३ घरगोठमा गरिएको आगजनी, दुई पटक खारा ब्यारेकमा तत्कालीन माओवादीको आक्रमणका कारण यो गाउँले पीडा पायो, चर्चामा रह्यो । अहिले भने पीडितका पीडा सम्बोधनमा राज्यले बेवास्ता गरेको गुनासो छ । साबिकको खारा गाविसका २९ जनाले द्वन्द्वका कारण ज्यान गुमाउनुपरेको थियो ।
घरआँगनमै स्थानीय सरकार छ तर ती द्वन्द्वपीडितको अवस्था उस्तै छ, गुनासा उस्तै छन् । विगतका निर्वाचनका समयमा शहीद परिवारका लागि धेरै गर्छौं भनेर घरमा आउने उम्मेदवारले गरेका प्रतिबद्धता पूरा नगरेकै कारण अहिले खारा गाउँमा उम्मेदवारको उपस्थिति छैन । स्थानीय नेता कार्यकर्ता आउँदा मन फुकाएर बोल्न मन नलाग्ने द्वन्द्वमा छोरा गुमाएकी कृष्णा ओलीले बताउनुभयो । नेताप्रतिको उहाँको विश्वास घटेर गएको छ । शान्ति स्थापनापछि भने गाउँमा केही हुन्छ भन्ने आशा थियो । परिवर्तनका लागि जनयुद्ध लडेकामा खाराका स्थानीयको विश्वास थियो तर यहाँका शहीद परिवार, घाइते, विस्थापित परिवारले अहिले राज्यले नै पछाडि धकेल्न खोजेको अनुभूति हुने गरेको प्रतिक्रिया दिएका छन् । चुनावमा पार्टीले तयार गरेका घोषणापत्रमा शहीद परिवार र घाइतेका कुरा प्राथमिकतामा नपर्दा द्वन्द्वपीडितलाई यस पटकको चुनावले उत्साह दिएको छैन ।