• १२ साउन २०८१, शनिबार

भोजपुरका गठबन्धन उम्मेदवार जिताए मन्त्री पक्का : अध्यक्ष दाहाल

blog

भोजपुरमा आयोजित चुनावी सभामा सहभागी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललगायत ।

गोकुल भुजेल

भोजपुर, कात्तिक ३० गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन दलको तर्फबाट भोजपुरको प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदन किराँती, प्रदेशमा राजेन्द्रकुमार राई र विनोद वान्ततालाई निर्वाचनमा जिताए सङ्घ तथा प्रदेशमा मन्त्री बनाउने आश्वासन दिनुभएको छ। 

बुधबार जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिका २ स्थित तिवारीभञ्जयाङगमा भएको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले यस्तो आश्वासन दिनुभएको हो।

राजनीतिक स्थिरताका लागि गठबन्धन गरिएको बताउँदै दाहालले यो गठबन्धन लामो समयसम्म जाने ठोकुवा गर्नुभयो। ‘‘गठबन्धन राष्ट्रको विकास र समृद्धिका लागि गरिएको हो। निर्वाचनमा गठबन्धनको जित निश्चित भए पनि आ-आफ्नो ठाउँबाट खटिन आवश्यक छ’’, अध्यक्ष दाहालले भन्नुभयो, ‘‘गठबन्धन दलको तर्फबाट भोजपुरको प्रतिनिधिसभा सदस्य उम्मेदवार सुदन किराँती, प्रदेशमा राजेन्द्रकुमार राई र विनोद वान्ततालाई निर्वाचनमा जिताए सङ्घ तथा प्रदेशमा मन्त्री बनाएर पठाउने छौँ।’’

नेपाली कांग्रेका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन दलका उम्मेरद्वारलाई जिताउन भोजपुरवासीलाई आग्रह गर्नुभएको छ। आमसभालाई सम्बोधन गर्ने क्रममा प्रवक्ता महतले वर्तमान संविधान र लोकतन्त्रको माग अनुसार आफूहरूले गठबन्धन गरेको उल्लेख गर्दै चुनावमा जिल्ला तथा गाउँगाउँमा गठबन्धनमा भोट हाल्नसमेत जिल्लावासीलाई उहाँले आग्रह गर्नुभएको छ। 

सभामा जिल्लाभरिका गठबन्धन दलका नेता तथा कार्यकर्ताले आगामी निर्वाचनमा आफ्ना मुद्दालाई जनतामाझ लगेर भारी मतले विजयी गराउने प्रतिबद्धता जनाएका छन्।