• १२ साउन २०८१, शनिबार

निर्वाचनपछि एमाले नेतृत्वमा सरकार : अध्यक्ष ओली

blog

सुनसरीको चुनावी सभालाई सम्बोधन गर्नुहुदै एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव  

इनरुवा, कात्तिक ३० गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि एमाले नेतृत्वमा सरकार गठन हुने दाबी गर्नुभएको छ ।  लोकतन्त्रलाई संस्थागत गर्न र स्थिर सरकार गठनका लागि एमालेलाई बहुमतका साथ मतदाताले जिताउने उहाँको विश्वास छ ।

सुनसरीको कोसी गाउँपालिका– १, स्थित लौहकीमा एमाले र जसपाको संयुक्त चुनावी आमसभालाई बुधबार सम्बोधन गर्नुहुँदै उहाँले सो दाबी गर्नुभएको हो । देश विकासको मिसन र भिजन एमालेसँग मात्र भएकाले विकास र समृद्धिको पक्षमा जनताले मतदान गर्ने दाबी उहाँको छ ।  

देशको विकास गर्ने स्पष्ट खाका एमालेसँग रहेकाले मतदाताहरूले एमालेलाई जिताउने अध्यक्ष ओलीले बताउनुभयो । निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार बन्ने उहाँले चर्चा गर्नुभयो । 

चुनावी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “देशको उत्तरी र दक्षिणी दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध स्थापित गरेर देशलाई विकसित मुलुकको रूपमा रुपान्तारण गरिनेछ ।” फरक प्रसङ्गमा अध्यक्ष ओलीले निर्वाचनपछि एमाले नेतृत्व सरकारले एक वर्षभित्र नागरिकता समस्या समाधान गर्ने बताउनुभयो ।

अङ्गीकृत र जन्मसिद्धका नागरिकता पाएका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने बताउनुभयो । देशमा बस्ने कोही पनि नेपाली नागरिकताबाट वञ्चित हुनु नपर्ने व्यवस्था एमाले सरकारले गर्ने उहाँले विश्वास दिलाउनुभयो ।

यसअघि नै जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण सुरु गरेकोमा कांग्रेसको अवरोधले वितरण सम्भव नभएको उहाँले आरोप लगाउनुभयो । जन्मसिद्ध नागरिकता भएका सन्तानले वंशजको नागरिकता पाउने विषय निर्वाचनपछि सुनिश्चित हुने उहाँको भनाइ छ । 

यसअघि सुनसरी क्षेत्र नम्बर ३ को दुहबीमा चुनावी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले २०४८ देखि पटक पटक धाँधली गरेर नेता विजयकुमार गच्छदार सांसद बनेको उहाँले टिप्पणी गर्नुभयो । निर्वाचन आयोगलाई स्वच्छ र निष्पक्ष निर्वाचन गराउन उहाँले आग्रह गर्नुभयो ।

जसपाका नेता तथा कार्यकर्तालाई सुनसरी ३ र ४ दुवै क्षेत्रमा सूर्य चुनाव चिन्हमा भोट हाल्न उहाँले आग्रह गर्नुभयो । निर्वाचन क्षेत्र नम्बर १ मा जसपाको मत धेरै कम भए पनि जसपाका अशोक राईलाई एमालेले सघाएको उहाँले बताउनुभयो ।

स्थानीय सरकार सञ्चालनका लागि जसपासहितको गठबन्धन रहने बताउँदै एमालेसँग सहकार्य भएका पार्टीका नेताहरूले जसरी पनि चुनाव जित्नुपर्ने उहाँले बताउनुभयो ।