• १२ साउन २०८१, शनिबार

विकास र आर्थिक क्रान्तिको लागि गठबन्धन : अध्यक्ष दाहाल

blog

धरानमा आयोजित चुनावी सभामा सहभागी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललगायत ।

निशा राई

धरान, कात्तिक ३० गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन विकास र आर्थिक क्रान्तिको लागि भएको बताउनुभएको छ। सङ्घीय प्रतिनिधिसभा सांसद र प्रदेशसभा सदस्यको मङ्सिर ४ गते हुने चुनावको प्रचारको क्रममा सुनसरी क्षेत्र नम्बर १ धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो। 

चुनाव संविधानको रक्षा र राजनीतिक स्थिरतालाई कायम राख्ने गठबन्धनले जित्न आवश्यक भएको उहाँको भनाइ छ। ‘‘संविधानको रक्षा, राजनीतिक स्थिरता र विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारले जित्नुपर्छ’’, अध्यक्ष दाहालले भन्नुभयो, ‘‘देशमा सुशासन र विकासमार्फत राजनीतिक परिवर्तनलाई संस्थागत गर्न जरुरी छ। यो निर्वाचन विगतको जस्तो होइन। यो निर्वाचन संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि हो। त्यसैले गठबन्धनले जित्नुपर्ने भएकोले अब कसलाई भोट दिने भन्ने जनताको भागमा रहेको छ।’’ 

अध्यक्ष दाहालले देशभरको स्थिति हेर्दा गठबन्धनको जित सुनिश्चित रहेको दाबी गर्नुभयो। यो गठबन्धन शान्ति र संविधानका पक्षमा भएको उहाँको दाबी छ। लोकतन्त्र स्थापना र शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइरालासँग सहकार्य गरेको उहाँले सम्झना गर्नुभयो। यो गठबन्धन चुनावका लागि मात्र नभएर अझै १०–१५ वर्ष जाने उहाँको भनाइ छ।

सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादीका केन्द्रीय सदस्य मुक्सामहाङ मेयाङबोलाई जिताए मन्त्री बनाएर पठाउने आश्वासनसमेत उहाँले मतदातालाई दिनुभएको छ। 

धरानको विकासमा गठबन्धन सरकारले उल्लेख्य काम गर्ने र अहिले मुलुकमा दुई गठबन्धन रहेको बताउँदै धरानको विकासका लागि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मत दिन दाहालको आग्रह छ। 

नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता एंवम पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले आजको आवश्यकता जोड्ने नेतृत्व गठबन्धनमा रहेको बताउनुभयो। उहाँले साझा दृष्टिकोणको विकास गरेर एक अर्काको कुरा सुन्दै अगाडि बढ्ने नेतृत्व चाहिने बताउनुभयो। 

गठबन्धनले स्थानीय चुनावी प्रतिबद्धता पत्रमा प्रदेश १ को नामाङ्कन, धरानको खानेपानी, सांस्कृतिक, पर्यटक विकास, सिटी अस्पताल निर्माण, सडक सञ्जाल, बीपी प्रतिष्ठानसहित यो क्षेत्रको आर्थिक, सामाजिक र सम्वद्र्धनका योजनालाई प्राथमिकता दिएको छ।  

निर्वाचनमा गठबन्धनबाट प्रदेशसभा सदस्यका लागि नेपाली कांग्रेसका उमेश थापा प्रदेश सभा (क) र नेकपा (एकीकृत समाजवादी)का रेवतीरमण राई प्रदेश सभा (ख) मा उम्मेदवार हुनुहुन्छ।