• १३ असोज २०८१, आइतबार

फिफा विश्वकपको दुई सय ९० वटा टिकट बेच्दै एन्फा

blog

काठमाडौं, कात्तिक २९ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विश्व फुटबल महासङ्घ (फिफा) बाट नेपाललाई प्राप्त कतार विश्वकपको दुई सय ९० वटा टिकट बिक्री गर्ने निर्णय गरेको छ । एन्फाको मंगलबार बसेको कार्यसमिति बैठकले प्राप्त विश्वकपको टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्थाहरू तथा फुटबल स्पोन्सर र शुभचिन्तकहरूलाई बिक्री गर्ने निर्णय गरेको हो ।

फिफा विश्वकप मंसिर ४ गतेदेखि कतारमा सुरु हुँदैछ । फिफाले हरेक सदस्य राष्ट्रलाई विश्वकप हेर्ने टिकट उपलब्ध गराउने गर्दछ । एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङको अध्यक्षतामा दशरथ रङ्गशालामा बसेको बैठकले विश्वकप टिकटको व्यवस्थापनसँगै विभिन्न आठ निर्णयहरू पनि पारित गरेको छ ।

बैठकले एन्फाको मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल राइट्स सम्बन्धमा एन्फा सचिवालयको समन्वयमा कार्यसमिति सदस्य रवीन्द्र चन्दको संयोजकत्वमा एक कमिटी गठन गरी सो कमिटीले आवश्यक योजना बनाई सो योजनामा कार्यसमितिको सबै सदस्यको सुझाव समेटेर टेन्डर प्रक्रियामा जाने, एन्फा होस्टल सञ्चालन सम्बन्धमा सङ्घका कार्यसमिति सदस्य सरिला श्रेष्ठको संयोजकत्वमा सदस्य रमेश व्यञ्जनकार र प्रवक्ता सुरेश शाह सदस्य रहने गरी एक कमिटी गठन गरी आवश्यक कार्यविधि तयार गरी सञ्चालन गर्न सो समितिलाई दिने निर्णय गरेको छ । 

बैठकले मार्चमा हुने फिफा कांग्रेसको सम्बन्धमा एन्फा अध्यक्षलाई जिम्मेवारी प्रदान गर्ने, कार्यसमिति बैठकले सहिद स्मारक ‘ए’ डिभिजन लिग डबल राउन्ड रोविनका आधारमा सम्पन्न गर्ने र सचिवालयले ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन क्लबसँग गरेको छलफल पछि गरेको प्रस्तावलाई अनुमोदन गर्ने निर्णय गरेको छ । 

यस्तै बैठकले ‘ए’ डिभिजन क्लबहरूले विभिन्न स्कुलसँग सम्झौता गरी सञ्चालन भइरहेको एकेडेमीहरूलाई विगतको सम्झौताको आधारले वार्षिक १०/१० लाख रुपियाँ उपलब्ध गराउने, धरान र बुटवलमा सञ्चालित एकेडेमीलाई चैतसम्मको रकम भुक्तानी गर्ने, यू-२० का खेलाडी राकेश विश्वकर्माको उपचारमा लाग्ने सम्पूर्ण खर्च एन्फाले व्यहोर्ने र फुटबल खेलाडी प्रिजेन तामाङलाई उपचारको लागि तीन लाख रुपियाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ ।