• १० मंसिर २०८१, सोमबार

अन्धविश्वासको जोखिम

blog

चेतना र विज्ञान आजको युगमा हाम्रा ग्रामीण क्षेत्रमा अझै पुरातन सोच, शैलीमा छन्। विभिन्न किसिमका अन्धविश्वासका घटना भइरहन्छन्। यस्ता घटनाले राज्य र समाजको गतिलाई चुनौती दिइरहेको हुन्छ। यस्ता अनेक घटना बेलाबेलामा देख्न तथा सुन्न पाइन्छ। धामी, झाँक्री, बोक्सी, टुनामुनाजस्ता विविधखाले अन्धविश्वास विज्ञान र प्रविधिको अनुपस्थितिमा कुनै बेला अति अस्वाभाविक नहुन सक्थ्यो होला तर अहिले पनि त्यस्ता कार्य समाज विकासका अवरोध हुन सक्छन्। अन्धविश्वासकै कारणले कतिपय मानिसले अकालमा ज्यान गुमाइरहेका हुन्छन्। धामी झाँक्रीका सम्बन्धमा विभिन्नखाले अविश्वसनीय तथ्यकै सूचीमा भर्खरै एक समाचारले धेरैलाई स्तब्ध पारेको छ।

सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको डागेश्वरी मन्दिरको जात्राका क्रममा देखिएको घटनाले विज्ञानको युगलाई चुनौतीसमेत दिएको छ। शुक्रबारको डागेश्वरी मेला जात्राका क्रममा एक युवक धामीझैँ काम्न थाले। त्यसक्रममा विभिन्न टीकाटिप्पणी हुनु स्वाभाविकै थियो। सोही क्रममा युवकले सबैले थाहा पाउने गरी दुई दिनमा केही देखाउने बताएका थिए। संयोगवश युवकको भनाइसँगै भोलिपल्ट मन्दिरको नजिकै एक चितुवा मृत फेला प¥यो। युवकले आफ्नो घोषणाअनुसार शक्ति देखाएर चितुवा मरेको स्थानीयको बुझाइ भयो। दाबी त्यसैगरी आउन थाल्यो। यही बुझाइसँगै अबिर जात्रा गरेर युवकलाई मृत चितुवामा सवार गराएर मन्दिर लगियो। मृत चितुवा र ती युवालाई पनि स्थानीयले भेटीसहित फूलमालाले पूजा अर्चना गरे। ती धामी भनिने युवकलाई चर्चित पारियो।

युवकमा निहित दैवीशक्तिका कारण चितुवा मृत फेला परेकोमा स्थानीय विश्वस्त देखिन्छन्। फलस्वरूप युवकको ठूलो सम्मान गरियो। मृत चितुवालाई समेत पूजा अर्चना गरियो। युवककै शक्तिका कारण चितुवा मृत फेला परेको आमबुझाइ कति सत्य हो ? त्यसमा कुनै नियमितता र आकस्मिकताले काम गरेको थियो ? वा पर्दा पछाडि कुनै खेल भयो भन्ने कुरा बुझ्न कठिन छ। सोझासाझा ग्रामीण बासिन्दालाई यो तथ्य विश्वसनीय लागे पनि युवककै कारण चितुवा मृत फेला परेको विषय रहस्यपूर्ण नै छ। स्थानीय वन कार्यालय दैवीशक्तिका कारण नभई पासोमा परेर चितुवा मरेको तथ्यमा विश्वस्त छ। वन्यजन्तु मृत फेला परेपछि जिम्मा लिने डिभिजन वन कार्यालयले मृत चितुवा जिम्मा लिन प्रयासरत रहे पनि स्थानीयले चितुवालाई जिम्मा नलगाएको स्थिति छ। यसमा सरकारी निकाय स्वयंलाई चुनौती भएको देखिन्छ। डिभिजन वन कार्यालयले चितुवाको घाँटीमा पासोको डाम रहेकाले पासोमा नै परेर सो चितुवाले ज्यान गुमाएको भनाइ सार्वजनिक गरिसकेको छ तर स्थानीय पत्याउन तयार छैनन्। अन्धविश्वासले जोखिम बढाएको छ।

यो अवस्थाको विश्लेषण गर्दा अझै पनि हाम्रा ग्रामीण क्षेत्रहरू अन्धविश्वास, रुढिवादी प्रवृत्तिले ग्रस्त रहेको देख्न सकिन्छ। चेतनाको स्तर कमजोर रहेकै कारण धामी, झाँक्रीमा अति विश्वास गर्ने परम्परा छ। शिक्षा र चेतना व्यापक हुन्थ्यो भने त्यस्ता अन्धविश्वासले घर गर्ने थिएन होला। कुनै धामीकै कारण कुनै जीवजन्तुले ज्यान गुमाउने विषय ज्यादै अविश्वसनीय तथ्य हो। चेतना तथा शिक्षाको अभावले यस्ता अनेक परिघटनाले हाम्रा कतिपय ग्रामीण समाजलाई पिरोलिरहेको छ। अझै पनि यस्ता अनेक अन्धविश्वासी घटनाहरू मुलुकका विभिन्न भागमा भइरहेको सुनिन्छन्, पढ्न पाइन्छ। तथ्य तथा प्रमाणले मात्र घटनाको वास्तविकतालाई पुष्टि गर्ने वैज्ञानिक चिन्तन र व्यवहारले मात्र यस्ता कुरीतिपूर्ण घटना न्यून हुन्छन्। समाजले अग्रगामी गति लिन सजिलो हुन्छ।

शिक्षा, स्वास्थ्य, रोजगारीको अभावमा कतिपय ग्रामीण वस्तु अझै पछाडि परेका छन्। त्यस्ता ग्रामीण क्षेत्रमा अझै पनि धामी झाँक्रीमा स्थानीयको विश्वासमा खासै कमी आएको देखिँदैन। यो ठूलो चुनौती हो। यस सन्दर्भमा शिक्षा, स्वास्थ्य, विकासजस्ता सकारात्मक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु वाञ्छनीय छ। राज्यका सरोकार निकायको त्यसतर्फ गम्भीर ध्यान जानुपर्छ। बरु धामी, झाँक्रीलाई शिक्षित पार्दै समाजलाई चेतनशील बनाउने दिशामा अग्रसर हुनुपर्छ। त्यस कार्यका निम्ति तालिम, प्रशिक्षण प्रदान गर्ने कार्यक्रम अगाडि सार्नुपर्छ। यसमा स्थानीयको दोष छैन। विकृति र विसङ्गति हटाउन समाजमा शिक्षा, स्वास्थ्य, रोजगारीसँगै विज्ञानसम्मत कार्यव्यवहारमा बढोत्तरी दिनु वाञ्छनीय छ। अन्धविश्वास र अवैज्ञानिक विश्वास र व्यवहारले समाजलाई झन् बढी पीडा दिने कुरामा सचेत हुनैपर्छ।