काठमाडौं, कात्तिक २७ गते । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको बाहिनी, गण तथा गुल्म कमाण्डलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न प्रतिबद्धताका साथ लाग्न निर्देशन दिनुभएको छ ।
भर्चुअल माध्यमबाट आइतबार देशभरका कमाण्डलाई एकैसाथ निर्देशन दिँदै महानिरीक्षक अर्यालले निर्वाचनका बखत कार्यक्षेत्रमा खटिँदा आइपर्ने जस्तोसुकै चुनौतीको सामनाका लागि तयार हुन पनि आग्रह गर्नुभएको छ ।
उहाँले निर्वाचनको दौरानमा बल प्रयोग गर्नुपरेमा बल प्रयोगको सिद्धान्तअनुसार सबै प्रकारका सावधानी अपनाएर जिम्मेवारी पूरा गर्न र कुनै पनि कमि कजोरी भएमा स्वयं युनिट कमाण्डर जवाफदेही हुनुपर्ने बताउनुभयो ।
अर्यालले सवारीसाधनको उचित प्रयोग, त्यसमा अपनाउनुपर्ने सावधानी र न्यूनतम स्रोतसाधनको अधिकतम प्रयोग गर्दै भोग, प्यास र थकानको परवाह नगरी २४सै घण्टा क्रियाशील रहन सशस्त्र प्रहरी कर्मचारीलाई अनुरोध गर्नुभएको छ । राष्ट्रको यस महान अभियानमा उच्च मनोबल र हौसलाका साथ कार्यक्षेत्रमा खटिन निर्देशन दिँदै उहाँले भन्नुभयो, “निर्वाचनका बेला सुरक्षा कमीकमजोरी क्षमा हुने छैन ।”
निर्वाचनको समयमा फिल्डमा खटिँदा सामान्यभन्दा सामान्य त्रुटी आफूले सुन्न र देख्न नचाहेको उहाँले बताउनुभयो ।
महानिरीक्षक अर्यालले बन्दोबस्तीलगायत अन्य भौतिक व्यवस्थापन भइसकेको जानकारी गराउँदै उच्चतम र भरपूर प्रयोग गर्न निर्देशन दिनुभयो । सो क्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमले निर्वाचनको समयमा हुनसक्ने समस्या, चुनौती तथा कार्यक्षेत्रमा खटिँदा अपनाउनुपर्ने कार्यशैलीबारे मातहत कमाण्डरलाई जानकारी गराउनुभएको थियो । रासस