• ११ मंसिर २०८१, मङ्गलबार

उपल्लो गोरखाको विकासमा पहल गर्ने दाहालको सङ्कल्प

blog

गोरखामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर : दाहालको निजी सचिवालय

गोरखा, कार्तिक २७ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आइतबार उपल्लो गोरखाका चुमनुम्ब्री गाउँपालिकाका छेकम्पार, सामागाउँ, सिर्दिबास र माछाखोलाका मतदातासँग भेटघाट गर्नुभएको छ।

गोरखाको क्षेत्र नम्बर १ मा उक्त गाउँपालिकाका विभिन्न ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गोरखाका अति विकट क्षेत्रको विकासका लागि आफूले पहल गर्नु प्रतिबद्धता व्यक्त गर्नुभयो।

गोरखाको विकास र समृद्धिका लागि नै आफूले यसपटकको निर्वाचनमा गोरखा आएको बताउँदै प्रचण्डले प्रतिगामी र संविधान विरोधी शक्तिलाई यही निर्वाचनबाट सबक सिकाउनु पर्नेमा जोड दिनुभयो।

अध्यक्ष दाहालले अहिले संविधान पक्षधर र विरोधीको लडाइँ रहेको चर्चा गर्दै सत्ता गठबन्धनले संविधानको रक्षा, समृद्धि र अग्रमगनको नेतृत्व गरेको तर एमाले र केपी ओलीले प्राप्त उपलब्धिलाई समाप्त पार्ने र देशलाई अँध्यारो सुरुङतर्फ लिन खोजेको बताउनुभयो।

राजनीतिक परिवर्तनको लागि जनयुद्धको तयारी गोरखाबाटै गरेको स्मरण गर्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘अहिले राजनीतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएको छु ।’

निर्वाचनबाट चुनिएर समग्र गोरखाको विकास निर्माणलाई पूर्णता दिने भन्दै अध्यक्ष दाहालले भन्नुभयो, ‘यहाँको सडक विस्तार, बनेका सडकलाई कालोपत्रे, विद्युतको राष्ट्रिय प्रसारण लाइन ल्याउन आफूले पहल गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडीबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्रको विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देश र विश्वभर दिने उहाँले बताउनु भयो ।

राजनीतिक क्रान्तिका लागि गोरखा जसरी उर्वर भूमि बन्यो त्यसरी नै समृद्धिको नयाँ क्रान्तिका लागि गोरखा उपयुक्त रहेको आफ्नो ठम्याइ रहेको उहाँको भनाइ थियो।

आर्थिक क्रान्तिको यात्रामा सबैको साथ र सहयोगको अपेक्षा गरेको उहाँले बताउनु भयो।