• १२ मंसिर २०८१, बुधबार

चुनावी सरगर्मीसँगै सद्भाव फर्काउन पहल

blog

अशोक अधिकारी/प्रकाशविक्रम शाह

कैलाली, कात्तिक २६ गते । नेपाली कांग्रेसका नेता तथा सत्ता साझेदार चार दलका साझा उम्मेदवार रामजनम चौधरी पछिल्लो साता टीकापुर नगरपालिकासहित आसपासका क्षेत्रमा मत माग्न पुग्नुभयो। थारु बाहुल्य क्षेत्रमा चुनावी प्रचारमा जाँदा उम्मेदवार चौधरीलाई मतदाताले राखेको एउटै माग थियो, “टीकापुर घटनाको विषयलाई जसरी पनि सुरक्षित अवतरण (सेफल्यान्डिङ) गराउनुपर्‍यो।”

चौधरीले भन्नुभयो, “टीकापुर घटनापछि कैलाली क्षेत्र नं. १ निकै ठूलो सामाजिक सङ्कटमा जुधिरहेको छ। त्यसैले यो समस्याको औपचारिक रूपमा समाधान खोज्न पहल गरे मत दिने वचनबद्धता मतदाताले व्यक्त गर्नुभएको छ। यो विषय निकै सघन रूपमा उठिरहेको छ।” कैलालीका पाँचवटा निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि ४८ जनाको उम्मेदवारी परेको छ। तर विकास निर्माण र समुन्नतिको मार्गचित्रभन्दा पनि बढी ‘टीकापुर घटना’ बहसमा छ। यस क्षेत्रमा पर्ने टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनाले अरू सबैका चुनावी मुद्दा प्रायः ओझेलमा परेका छन्। 

थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित सात जना सुरक्षाकर्मी एवं दुई वर्षीय बालक टेकेन्द्र साउदको मृत्यु र ५० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएको घटना अझै पनि सेलाएको छैन। २०७४ को निर्वाचनमा थरुहट आन्दोलनको नेतृत्वकर्तामध्येका एक रेशमलाल चौधरी विजयी हुनुभएको थियो। ‘टीकापुर घटना’का मुख्य दोषी चौधरी फरार अवस्थामै चुनाव जितेर पूरा कार्यकाल जेलमै बिताउनुभयो। जन्मकैदको फैसलापछि उहाँ जेलमै हुनुहुन्छ। आगामी निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी प्रमुख तथा चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरीले पनि उम्मेदवारी दिनुभएको छ। नेत्री श्रेष्ठले पनि ‘टीकापुर घटना’लाई नै चुनावी मुद्दा बनाउनुभएको छ। कांग्रेस नेता चौधरीका अनुसार ५८ जनामाथि मुद्दा लागेकोमा ३१ जना अझै फरार सूचीमा रहेका छन्। उहाँले भन्नुभयो, “२७ जनालाई हिरासतमा राखिएको थियो। जिल्ला अदालतको फैसलापछि केही छुटे, केही कारागार चलान भए। उच्च अदालतको फैसलापछि सर्वोच्चमा यो मुद्दा चलिरहेको छ । तर यो विषयलाई नयाँ तरिकाबाट समाधान खोज्नैपर्ने आवश्यकता छ।”

राजनीतिक सद्भावको खोजी

टीकापुर घटनाको स्थायी समाधानको विषयमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र प्रतिपक्षी नेकपा (एमाले)को समान धारणा रहेको छ। प्रतिनिधि सभा सदस्यका उम्मेदवारद्वय कांग्रेस नेता चौधरी र एमाले नेता तपेन्द्रबहादुर रावलले सद्भाव कायम गर्नेगरी टीकापुर घटनाको राजनीतिक समाधान खोज्नुपर्ने बताउनुभयो। 

नेता चौधरीले भन्नुभयो, “टीकापुर घटनाको स्थायी समाधान नखोजेसम्म यो सधैँ बल्झिइरहन्छ। समाजमा सद्भावको खाँचो रहिरहन्छ। त्यसैले राजनीतिक समाधानका लागि मैले जित्नैपर्छ।” उहाँले दुई विकल्पमध्ये अदालती प्रक्रियाभन्दा पनि राजनीतिक सहमतिका आधारमा समाधान खोज्नुपर्ने बताउँदै निर्वाचनपछि पुनः गठबन्धन सरकार निर्माण हुँदा संसद्बाट कानुन संशोधन गरेर भए पनि यो विषयको समाधान निकाल्न अहिलेदेखि नै पहल गरिरहेको उल्लेख गर्नुभयो।

एमाले नेता रावलले पनि टीकापुर घटनाले थारू बहुल क्षेत्रमा सद्भावको अभाव कायमै रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “कैलाली १ बाट जसले जिते पनि टीकापुर घटनाको विषयलाई संसद्मार्फत सम्बोधन गर्ने जिम्मेवारी प्रमुख दायित्व बन्नेछ।”

कैलाली क्षेत्र नं. १ का प्रदेश सभा (क)का गठबन्धनका उम्मेदवार एवं नेकपा (माओवादी केन्द्र)का दीर्घराज बिनाडी र प्रदेश (ख) कांग्रेसका रणबहादुर रावलले पनि टीकापुर घटनाको विषयमा सहमति निर्माण गरेपछि मात्र यस क्षेत्रमा विकास र समुन्नतिको बहस औपचारिक रूपमा आरम्भ हुने बताउनुभयो। 

विकासको बहस ओझेलमा

कैलालीका पाँचवटा निर्वाचन क्षेत्रमा सत्ता साझेदारको मतभार बढी रहेको छ। त्यसपछि एमालेको छ। तर स्थानीय तह निर्वाचनको परिणामअनुसार उन्मुक्ति पार्टीको प्रभाव पनि राम्रै देखिएको छ।

कैलालीका उम्मेदवारहरूले कर्णाली नदीको तटीय क्षेत्रमा बर्सेनि आउने समस्या समाधान गर्ने, टीकापुरमा विमानस्थल निर्माण, कर्णाली कोरिडोरको विस्तार, पुलपुलेसा निर्माण, सडक स्तरोन्नति, स्वास्थ्य सेवाको पहुँच, सिँचाइसहितका मुद्दा उठाउनुभएको छ। 

कैलालीका पाँच प्रतिनिधि सभा क्षेत्रमा ४८ र १० प्रदेश सभा क्षेत्रमा ७८ जनाले उम्मेदवारी दिनुभएको छ। प्रतिनिधि सभातर्फ कैलाली क्षेत्र नं. १ मा ११ जनाको उम्मेदवारी परेको छ। क्षेत्र नं. २ मा गठबन्धनका साझा उम्मेदवार एवं माओवादी केन्द्रका नेता भगतबहादुर बढुवाल, एमाले नेता झपटबहादुर रावलसहित दल र स्वतन्त्र गरी ९ जनाले उम्मेदवारी दिनुभएको छ। क्षेत्र नं. ३ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कृष्णकुमार चौधरी, एमालेका गौरीशङ्कर चौधरीसहित ८ जनाको उम्मेदवारी परेको छ। 

त्यस्तै क्षेत्र नं. ४ मा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर, एमाले सचिव लेखराज भट्टसहित १० जनाको उम्मेदवारी परेको छ। क्षेत्र नं. ५ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि रानासहित १० जनाले उम्मेदवारी दिनुभएको छ।