• ३१ वैशाख २०८१, सोमबार

‘विहारमा मदिरा निषेध अभियान असफल’

blog

हाजिपुर, (विहार) कात्तिक २५ गते । विहार सरकारले लागू गरेको मदिरा निषेध अभियान असफल भएको राज्यका एक जना वरिष्ठ नेताले बताएका छन् । यद्यपि त्यसबाट राज्यका जनतालाई केही लाभ भएको छ ।

जनता दल (युनाइटेड) का नेता तथा पार्टीको राष्ट्रिय संसदीय बोर्डका अध्यक्ष उपेन्द्र कुशवाहले आज यहाँ संवाददाताहरूसँग कुरा गर्दै राज्यमा मदिरा निषेध अभियान सफल नभएको बताए । उनले सरकारको एकल प्रयासबाट अभियान सफल नहुने बताउँदै त्यस निम्ति जनसाधारणको साथ र समर्थन अपरिहार्य भएकामा जोड दिए ।

मदिरा आपूर्ति नरोकिएसम्म त्यसको खपत पनि नरोकिने यथार्थ सुनाउँदै उनले अभियानबाट केही हदसम्म समाज लाभान्वित भएको बताए । उनले अभियानलाई सफल बनाउन राज्यका जनतालाई अग्रमोर्चामा आउन आह्वान गरे । नेता कुशवाहको यो भनाइले नीतिशकुमारको सरकारलाई अप्ठ्यारो पारेको छ । मदिरा आपूर्तिकर्ताहरूमाथि कठोर बन्न तथा कडाइका साथ कानुन कार्यान्वयन गर्न मुख्यमन्त्रीले आदेश दिएपछि नेता कुशवाहको यो भनाइ सार्वजनिक भएको हो ।

सन् २०१६ को अप्रिलदेखि विहारमा मदिरामाथि प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध उल्लङ्घन गर्नेलाई १० वर्षसम्म काराबासको सजाय हुने कठोर व्यवस्था पनि गरिएको छ तर मदिराको आपूर्ति र खपत घटेको छैन । मदिराका कारण राज्यमा आपराधिक घटना बढेका छन् । विहार राज्यका लागि भारतीय जनता पार्टीका निखिल आनन्दले पनि नेता कुशवाहको भनाइप्रति सहमति जनाएका छन् । रासस/एएनआई