गुणबहादुर रोका
सुलीकोट, वैशाख ८ गते । नेपाल पत्रकार महासङ्घ गोरखाको नयाँ नेतृत्व निर्विरोध चयन भएको छ । जिल्लामा पुस २८ गते हुनु पर्ने निर्वाचन सदस्यबिचको असमझदारीले केही महिनादेखि रोकिएकोमा क्रियाशील सञ्चार सम्बद्ध सङ्घ सङ्गठनबिच भएको सहमति अनुसार भएको निर्वाचनमा सबै पदमा एकल उम्मेदवारी दर्ता भएपछि नरेन्द्र ढकाल सहितको जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
आइतबार साँझ उम्मेदवारी दर्तासंगै उम्मेदवार माथि दाबी विरोधका लागि दिएको समयमा कुनै पनि उम्मेदवार प्रति उजुरी नपरेपछि निर्वाचन समितिले निबिरोध निर्वाचित भएको घोषण गरेको हो ।
जस अनुसार महासङ्घ गोरखा शाखाको उपाध्यक्षमा विकास मरहठ्ठ, समाबेशी उपाध्यक्षमा अस्मिता सिम्खडा, सचिवमा सुजन न्यौपाने, सहसचिवमा मोहसिन मिया, समाबेशी सहसचिवमा दान बहादुर गुरुङ र कोषध्यक्षमा गुणराज रोका निर्विरोध निर्वाचित हुनु भएको मुख्य निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सदस्यमा राजेश पौडेल, बिमल श्रेष्ठ, संगिता चेपाङ, मेलिना बराम, बिभर गुरुङ र सुदिप श्रेष्ठ, चयन हुनुभएको छ ।
त्यस्तै गरी राष्ट्रिय परिषद सदस्यमा नरहरि सापकोटा र किरण कुमार लोहनी चयन हुनु भएको छ । गत मंसिर २८ गते हुने भनिएको निर्वाचन सदस्य बिबाद भएपछि झन्डै साँढे ४ महिना पत्रकार महासङ्घ गोरखा शाखाको निर्वाचन स्थगित हुँदै आएको थियो ।
निर्विरोध निर्वाचित जिल्ला शाखाका पत्रकारहरूलाई धन्यवाद दिँदै पत्रकार महासङ्घका केन्द्रीय प्रतिनिधि तथा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले पत्रकारिताको क्षमता अभिवृद्धि गर्न आग्रह गर्दै सरकारले गरेका गलत कार्यलाई खबरदारी गर्नुपर्ने पत्रकारको धर्म भएको पनि बताउनुभयो ।