• ६ जेठ २०८१, आइतबार

भूकम्पको सङ्केत

blog

वि.सं. २०७९ कात्तिक २३ गते बिहान २ बजेर १२ जाँदा पश्चिम नेपाल डोटीको खप्तड राष्ट्रिय निकुन्जको खप्तडबाबा आश्रम आसपास केन्द्रबिन्दु भएको ६.६ रेक्टर स्केलको भूकम्प गयो। जसको धक्का कर्णाली र लुम्बिनी प्रदेशसम्म अनुभव गरिएका समाचार आए। त्यसअघि कात्तिक २२ गते राति ९ बजेर ७ मिनेट र ९ बजेर ५६ मिनेटमा सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएको क्रमशः ५.७ र ४.१ रेक्टर स्केलका भूकम्प गएको थियो। यी भूकम्पले त्यस क्षेत्र आसपासमा केही क्षति र हताहती भएको समाचार आएका छन्।

नेपालमा विगतमा ठूलाठूला भूकम्प गएको र ती भूकम्पले विनाश गरेको हामीले सुन्दै आएका छौँ। इतिहासका पुस्तकमा मल्ल राजाहरूमा जयस्थिति मल्लभन्दा पहिलाका मल्ल राजा त्यति सशक्त नभएको र आपसी झगडा, विद्रोह, भूकम्पलगायत बाह्य आक्रमणका कारण सामाजिक, राजनीतिक, आर्थिक तथा धार्मिक रूपमा कमजोर रहेको उल्लेख गरेको पाइन्छ। यसबाट पनि भूकम्पले समय–समयमा आतङ्क मच्चाएको बुझ्न गाह्रो पर्दैन। अझै पनि हाम्रा निर्माण विधि र स्तर हेर्दा हामीले भूकम्पका सम्बन्धमा पर्याप्त ध्यान नदिएका हौँ कि भन्ने भान हुन्छ।

नेपालमा भूकम्पको लिखित र यान्त्रिक रेकर्डको धेरै लामो इतिहास भेटिँदैन तथापि नेपालका उत्तरतिर ठडिएका हिमाली शृङ्खला भूकम्पकै कारण ठडिएको मानिन्छ। यी हिमाल करिब साढे चार करोड वर्ष पहिलेदेखि दक्षिणमा रहेको भारतीय भूखण्ड उत्तरतर्फ रहेको युरेसियन भूखण्डसँग ठोकिन वा जुध्न सुरु भएदेखि नै भूकम्पको प्रक्रिया पनि सुरु भई क्रमिक रूपमा उठ्न सुरु भई अहिलेको अवस्थामा आइपुगेको मानिन्छ। 

अफगानिस्तानदेखि म्यानमारसम्म करिब दुई हजार ५०० किमि लम्बाइमा युरोसियन/टिवटेन प्लेट र भारतीय प्लेटको जुधाइले यस हिमालय शृङ्खलामा बस्ने हामी लाखौँ–करोडौँ मानिस भूकम्पीय जोखिममा छौँ। नेपाललगायत यस क्षेत्रमा जुनसुकै समय ठूला भूकम्प जान सक्छन्। गोरखा भूकम्प २०७२ पनि नेपालमा ठूलो भूकम्प जान सक्ने क्षेत्र हो भन्ने एउटा बलियो प्रमाण हो। वास्तवमा भूकम्पीय जोखिम क्षेत्रमा बसेका हामी भूकम्प र यसबाट हुने क्षति र हताहती सम्बन्धमा चनाखो वा सचेत भएका छैनौँ।

खासगरी पछिल्लो समय विकसित सहरोन्मुख बस्तीमा समेत भूकम्पीय जोखिमका दृष्टिले भवन निर्माण संहिता प्रयोग गरी निर्माण गरेको पाइँदैन। भूकम्प गएको वा भूकम्पको धक्का महसुस भएको समयमा बाहेक हामीले भूकम्पका सम्बन्धमा खासै चिन्ता र चिन्तन गरेको पाइँदैन। त्यसका साथै हामीले भूकम्पका सम्बन्धमा पूर्वतयारी (भूकम्प जानुअघि, भूकम्प गइरहेको समयमा र भूकम्प गइसकेपछि के गर्ने भन्ने योजना) पनि गरेका छैनौँ। हामी ठूला र महाभूकम्प साठी–सत्तरीदेखि केही सय वर्षको अन्तरालमा मात्र आउँछ भन्ने बुझाइमा छौँ। 

अहिलेसम्मको तथ्याङ्क हेर्दा यो भनाइ सही किन हो भने सोही क्षेत्रमा छोटो समयमा नै ठूलो भूकम्प जाने शक्ति सञ्चित हुँदैन तर कुनै भूकम्पले त्यहाँ सञ्चित शक्ति पूर्ण रूपमा निस्सृत गर्न नसकेको अवस्थामा भने सोही क्षेत्र आसपासमा अर्को भूकम्प जाने सम्भावना रहन सक्छ। त्यस्तै सो क्षेत्रबाहिर त त्यो सम्भावना सधैँ रहन्छ नै। फेरि नेपालले अफगानिस्तानदेखि म्यानमारसम्मको २५०० किमि लामो हिमशृङ्खलाको मध्य भागको करिब एकतिहाइ लम्बाइ ओगट्ने हुनाले पनि यो क्षेत्रमा जाने भूकम्पको एकतिहाइ भार वहन गर्नाले नेपाल सधैँ भूकम्पीय जोखिममा रहेको मानिन्छ।

नेपाल बहुप्रकोपीय मुलुक हो, त्यसमा पनि भूकम्पलाई छाडेर अन्य प्रकोपको तुलनामा पहाडी मुलुक र धेरै नदीनाला भएकाले बाढी र पहिरोको जोखिम पनि छ। फरक यति मात्र हो कि पहिरो र बाढीको केही हदसम्म अनुमान गर्न सकिन्छ तर भूकम्पको भने कुनै छनकसम्म पनि पाउन सकिँदैन। हामीसँग चीन र जापानको जस्तो भूकम्पको लामो इतिहास पनि छैन। भूकम्पको सबैभन्दा पुरानो रेकर्ड चीनमा भेटिन्छ र भूकम्प सूचना दिने वा भूकम्पको दिशा पत्ता लगाउने पहिलो यन्त्र (सिस्मोस्कोप) जसलाई चिनियाँ फिलोसोफर, गणितज्ञ चान हेनले ई.पू. २३४ चीनमै बनाएका थिए।

नेपालमा भूकम्पसम्बन्धी यन्त्र उपकरण राखेर भूकम्पको अध्ययन अनुसन्धानको सुरुवात सन् १९७८ देखि भएको भए पनि विशेष गरेर सन् १९८८ (वि.सं. २०४५)मा गएको उदयपुरको ६.९ मापनको भूकम्पले गरेको धनजनको क्षतिपश्चात् मात्र यसको अध्ययन र अनुसन्धानले तथा भूकम्पमापन स्टेसनको स्थापनाले तीव्रता पाएको देखिन्छ। यो भूकम्पअघि पूर्वमा सिन्धुपाल्चोकदेखि पश्चिममा गोरखासम्म मात्र जम्मा पाँचवटा भूकम्पमापन स्टेसनको स्थापना गरी भूकम्पको मापन तथा निगरानी गर्ने कार्य गरिएको थियो। उदयपुरको भूकम्पपश्चात् पूर्वमा ताप्लेजुङदेखि पश्चिममा बैतडीसम्म १२ वटा भूकम्पमापन स्टेसन थप गरी भूकम्पको अध्ययन अनुसन्धान गर्न थालिएको हो। 

सन् १९९८ सुर्खेत, दैलेख र कैलालीमा थप चारवटा भूकम्पमापन स्टेसन स्थापना गरी २१ वटा स्टेसनको सञ्जालमार्फत भूकम्पको निगरानी गर्न थालिएको थियो। त्यो भूकम्पमापन स्टेसनको सञ्जाल सञ्चालन भएको करिब १७ वर्षपछि सन २०१५ मा गोरखाको वारपाक केन्द्रबिन्दु भएको ७.६ मापनको भूकम्प गयो। गोरखा भूकम्पपश्चात् विभिन्न दातृ निकायको सहयोगमा नेपालका विभिन्न स्थानमा २० वटा थप साइस्मिक स्टेसन स्थापना गरी नेपाल र यसको आसपासमा जाने भूकम्पको २४सै घण्टा निगरानी गर्ने कार्य खानी तथा भूगर्भ विभागअन्तर्गतको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले गर्दै आएको छ। 

नेपालमा विगतमा ठूला भूकम्प गए पनि तिनको आधिकारिक प्रमाण वा रेकर्ड भेटिँदैनन्। सायद सो समयमा नेपालमा भूकम्पमापन तथा निगरानी गर्ने कुनै यन्त्र–उपकरण तथा निकाय नभएकाले पनि यसो भएको हुन सक्छ । नेपालमा भूकम्पसम्बन्धी लेखिएको ब्रह्म शमशेरको ‘नेपालको महाभूकम्प १९९०’ नामक पुस्तक नै पहिलो हुनुपर्छ। जसले त्यो समयमा जतिबेला नेपालमा यातायात र सञ्चारको सुविधा नै थिएन र पनि नेपालभरबाट सम्भव भएसम्मका आँकडा सङ्कलन गरी प्रकाशित त्यो पुस्तक एउटा पूर्ण पुस्तकजस्तै लाग्छ। त्यतिबैलै पनि अमेरिकाबाट भूगर्भविद् मगाएरसमेत अध्ययन गराई सुझाव लिइएको कुरा उक्त पुस्तकमा उल्लेख गरिएको मात्र होइन, उक्त भूकम्पबाट ठूलो धनजनको क्षति भएपछि विभिन्न राष्ट्रले सहयोग गर्ने इच्छा व्यक्त गरे पनि सबैलाई कूटनीतिक भाषामा सधन्यवाद कुनै सहयोगको दरकार नपरेको जवाफ दिइएको उल्लेख छ। 

त्यसपछि २०३७ सालमा बझाङमा गएको भूकम्पका सम्बन्धमा सुदूरपश्चिमाञ्चल भूकम्पपीडित जिल्ला पुनर्निर्माण केन्द्रीय समिति काठमाडौँ, गृह पञ्चायत मन्त्रालय, आदर्श छापाखाना र २०४५ सालमा उदयपुरमा गएको भूकम्पको सम्बन्धमा नीरन्जन थापाले लेखेका पुस्तक २०७२ को विनाशकारी गोरखा भूकम्पअगाडि लेखिएका पुस्तक हुन्। गोरखा भूकम्पपश्चात् त भूकम्पसम्बन्धी धेरै पुस्तक लेखिए। धेरै अनुसन्धात्मक रचना प्रकाशन भए। जसमा कतिपय कृति अनुसन्धात्मक छन् भने कतिपय अनुसन्धानात्मकभन्दा पनि भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गरी प्रकाशन गरेको पाइन्छ।

अहिलेसम्मको खोज र अनुसन्धानबाट नेपालमा मात्र होइन, विश्वमा कहीँ कतै पनि भूकम्पको पूर्वानुमान/भविष्यवाणी सम्भव भएको छैन। नेपालमा स–साना भूकम्प दैनिक र मझौला तथा ठूला भूकम्प केही समयको अन्तरालमा जाने गर्दछन् । भूकम्पीय जोखिम क्षेत्रमा बस्ने हामी यहाँ जुनसुकै समय मझौला तथा ठूला भूकम्प जान सक्ने भएकाले सधैँ चनाखो र सचेत हुनुपर्छ। सायद पश्चिम नेपालमा गएको पछिल्लो भूकम्पले यही कुरा सम्झाएको वा सङ्केत गरेको हुनुपर्छ।