• १० मंसिर २०८१, सोमबार

सकिमना पुन्ही : अन्नमार्फत बनाइने दुर्लभ कलाकारिता

blog

काठमाडौँ, कात्तिक २३ गते । नेवार समुदायले मङ्गलबार कार्तिक पूर्णिमा अर्थात् ‘सकिमना पुन्ही’ (पिँडालु उसिन्ने पूर्णिमा) मनाएको छ। यस दिन सकी अर्थात् पिँडालु तथा सखरखण्ड उसिनेर खाने प्रचलन छ। संस्कृतिविद्हरूका अनुसार नेवार समुदायले ऋतुअनुसारको उब्जनी आफ्नो इष्टदेवलाई चढाएर मात्र खाने प्रचलन छ। नेवार समुदायले पिँडालु, सखरखण्डलगायत कन्दमूल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने गर्दछ। यसले शरीरमा ताकत उत्पन्न भई शरीर स्वस्थ हुने जनविश्वास छ।

सकिमना पुन्हीका दिन कमलविनायक भत्केको पाटीस्थित यातु महादेव, आशापुरेश्वर (आशापुरी) महादेव, डोलेश्वर महादेव, सुवर्णेश्वर महादेवलगायतका महादेव मन्दिरमा विशेष मेला लागेको छ। महादेवको पूजा आराधना र दर्शन गरी व्रत बस्नाले पुण्य प्राप्त हुनाका साथै राम्रो वर पाउने धार्मिक विश्वास छ। 

नेवार समुदायले एकमहिने दाफा भजनकीर्तन पनि कात्तिक पूर्णिमाको दिनमा सम्पन्न गर्ने प्रचलन रहेको सिद्धिगणेश दाफा भजन खलःका शक्तवीर द्वारेले जानकारी दिनुभयो। द्वारेले हरेक भजनमण्डलीले साँझ मन्दिरअगाडि उसिनेको सखरखण्ड, पिँडालु तथा भुटेको मकै, भटमास, गहुँ, बदाम, केराउ, चनालगायत विभिन्न गेडागुडीले देवीदेवता तथा मन्दिरको कलात्मक आकृति बनाउने जानकारी दिँदै थप्नुभयो, “यसलाई स्थानीय भाषामा हलिमली भनिन्छ। अन्त्यमा यसैलाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ।” 

सकिमना पुन्ही कलालाई अन्नमार्फत प्रस्तुत गर्ने एक दुर्लभ कलाकारितासमेत भएको संस्कृतिविद् ओम धौभडेलको भनाइ छ। घरघरमा उसिनेको पिँडालु खाएर सकिमना पुन्ही मनाएका उनीहरूले धान, मकै, भटमासलगायत भुटेका गेडागुडीबाट न्यातपोल मन्दिर, बिस्काः रथ, गणेशलगायत विभिन्न देवीदेवताका आकृति बनाउने र यो कलाकारिताको प्रतीक नै रहेको उहाँले बताउनुभयो। यो चित्रकलाले यहाँको प्राचीन वैभव झल्काउँछ” उहाँले भन्नुभयो। 

भुटेको अन्नद्वारा गणेशको आकृति बनाउँदै गर्नुभएका राजेन्द्र खायतू पूर्णिमाको दिन भुटेको अन्न खाली जमिनमा राख्दा राम्रो प्रभाव रहने बताउनुहुन्छ।  त्यो दिन चन्द्रमाबाट अमृत निस्कने र त्यो अन्न खाएमा सुखशान्ति हुने विश्वास उहाँको छ। “यही विश्वासमा किसानहरू आआफ्ना घरबाट भुटेको अन्न लिएर आउँछन्,” उहाँले भन्नुभयो, “चित्र बनाएपछि त्यही रात उक्त कला प्रसादका रूपमा बाँडिने गरिन्छ।” 

संस्कृतिकर्मी धौभडेलका अनुसार दशैँतिहारपछि काठमाडौँ उपत्यकामा जाडोयाम सुरु हुने र शरीरलाई चिसोबाट बचाउन खेतमा त्यसै खेर गइरहेको पिँडालु उसिनेर खाँदा शरीरमा ताप तथा ऊर्जा प्राप्त हुने आधारले यो पर्व मनाउन थालिएको हो। यसैगरी यस दिन स्वयम्भू महाचैत्यमा भक्तजन एवं दर्शनार्थीबाट ८४ हजार फूल र ८४ व्यञ्जन खानाका परिकार चढाइने गरिन्छ।