सल्यान समाचारदाता
सल्यान, कात्तिक २२ गते । चुनाव नजिकिएसँगै सल्यानका उम्मेदवारले प्रचार कार्य तीव्र पारेका छन् । अधिकांश उम्मेदवारले पूर्वाधार विकास निर्माणका पुरानै मुद्दालाई चुनावी नारा बनाएका छन् ।
उम्मेदवारले राप्ती राजमार्ग, मदन भण्डारी राजमार्ग, रिङरोडलगायत राजमार्गलाई चुनावी मुद्दा बनाएका छन् । यद्यपि, सल्यानको मुख्य सडक राप्ती राजमार्ग स्तरोन्नति गर्ने प्रतिबद्धता आजअघिका उम्मेवारले पटक–पटक गरे पनि काम हुन सकेको छैन । दाङ–सल्यान ६५ किलोमिटर राप्ती राजमार्ग स्तरोन्नति गर्ने नारालाई यस पटक समेत सबै उम्मेदवारले मुख्य नारा बनाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार राजेन्द्रवीर रायले राप्ती राजमार्गको अवस्था सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिने बताउनुभयो । राप्रपा नेपालबाट २०७४ मा प्रदेश सभा उम्मेदवारी दिएका रायले यसअघि पनि सडक पूर्वाधार प्राथमिकतामा रहेको बताउँदै आउनुभएको थियो ।
राप्ती राजमार्ग, दाङ, सल्यान, रुकुम सडकखण्ड, मदन भण्डारी राजमार्ग र प्रदेश राजधानी जोड्ने खलङ्गा वालुवासँगह्री सडकको काम पनि अधुरो अवस्थामा छ । नेकपा (एकीकृत समाजवादी)का तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार प्रकाश ज्वालाले आफूले अघिल्लो पटक जनतामा प्रतिबद्धता जनाएका योजना निर्माणाधीन अवस्थामा रहेकाले पूरा गरिने विकासका मुद्दा मात्र लिएर मतदाताकहाँ पुगेको बताउनुभयो ।
यसअघि वाम गठबन्धनबाट निर्वाचित भएर ज्वाला कर्णाली प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री हुनुभएको थियो । यहाँ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन रहेको छ । नेकपा (एमाले) र राप्रपा एक्लाएक्लै चुनावमा होमिएका छन् । सबै दलका उम्मेदवारले पर्यटन विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, सडक स्तरोन्नतिजस्ता मुद्दालाई मुख्य रूपमा अघि सारेका छन् । नेपाली कांग्रेसका प्रदेश सभा (ख)का उम्मेदवार सुरेश अधिकारीले पहिलो प्राथमिकता भनेको सडकलगायतका पूर्वाधार भएको बताउनुभयो । उहाँका अनुसार कच्ची सडक सबै पालिका केन्द्र र ग्रामीण क्षेत्रमा विस्तार भएको छ । त्यसलार्ई सुधार गरी उत्पादन वृद्धिका क्षेत्रमा लगानी बढाउने गरी योजना अघि बढाइनेछ ।
सल्यानमा प्रतिनिधि सभा सदस्यमा छ उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । प्रदेश सभामा १२ जनाले प्रतिस्पर्धा गर्दै छन् तर सबैका एजेन्डा एकै र उस्तै छन् । चुनावमा गरेका वाचा र प्रतिबद्धता, जित्नका लागि मात्र नभएर साँच्चिकै पूरा हुन्छ भन्नेमा सल्यानवासी त्यति आशावादी देखिँदैनन् । छत्रेश्वरी गाउँपालिका–६ की निर्मला केसीले विगतका निर्वाचनका समयमा दल र उम्मेदवारले गर्ने प्रतिबद्धता कार्यान्वयनमा नआएको बताउनुभयो । उहाँका अनुसार धेरै कुरा गर्ने तर काम नहुने गरेको छ ।
दार्मा गाउँपालिका–२ का हेमन्त शर्माले दलले मत माग्दा एउटा र जितिसकेपछि अर्को व्यवहार गर्ने गरेको बताउनुभयो । उहाँका अनुसार चुनावको समयमा धेरै कामको वाचा गर्ने तर पूरा नहुने समस्या दोहोरिने गरेको छ ।