• १६ भदौ २०८१, आइतबार

झापा निर्वाचन क्षेत्र नं. ५

पुरानै प्रतिस्पर्धीबीच रस्साकस्सी

blog

प्रकृति अधिकारी/विष्णुप्रसाद पोखरेल 

दमक (झापा), कात्तिक २२ गते । पछिल्लो पाँच वर्षमा झापा निर्वाचन क्षेत्र नं. ५ को विकास निर्माणले निकै छलाङ मारेको छ। आधा दशकमा यति भव्य प्रगति सम्भवतः देशका अन्य निर्वाचन क्षेत्रमा देख्न पाइँदैन। यो क्षेत्रमा रहेको दमक नगरपालिकाको स्वरूप नै नयाँ बनेको छ। राजनीतिक दलहरूले यस पटक अघि सारेका चुनावी प्रतिबद्धता पूरा हुनसके यस क्षेत्रको आगामी पाँच वर्षको विकास चमत्कारपूर्ण हुनेछ।

प्रतिनिधि सभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं. ५ मा विशेष गरी राप्रपासँगको तालमेलमा नेकपा (एमाले) र सत्ता गठबन्धनबीच नै रस्साकस्सी हुने देखिएको छ। निर्वाचनमा जम्मा २५ उम्मेदवार भए पनि यी दुई दलबाहेकको प्रभाव खासै देखिएको छैन। एमालेका तर्फबाट एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डा. खगेन्द्रपाण्डव अधिकारी उम्मेदवार हुनुहुन्छ। २०७४ सालको निर्वाचनमा उहाँहरूबीच नै प्रतिस्पर्धा भएको थियो र सो निर्वाचनमा ओलीले ५७ हजार १३९ र अधिकारीले २८ हजार २९७ मत प्राप्त गर्नुभएको थियो।

यस निर्वाचन क्षेत्रमा दलहरूले आफ्ना स्थानीय घोषणापत्रमार्फत विकासका प्रतिबद्धता अगाडि सारेका छन्। गठबन्धनका तर्फबाट जारी गरिएको ४१ बुँदे ‘सार्वजनिक प्रतिबद्धता’मा आगामी पाँच वर्षमा अन्तर्राष्ट्रियस्तरको आदिवासी रङ्गशाला निर्माण, दमक–रवी सडक (फाल्गुनन्द मार्ग)लाई यथाशीघ्र कालोपत्रे गर्ने, दमकमै मदन भण्डारी रङ्गशाला निर्माण गर्ने, औद्योगिक क्षेत्र निर्माणमा देखिएको ढिलासुस्तीलाई अन्त्य गर्ने, दमकमा चन्द्रमा पार्क निर्माण गर्ने, संसारकै अग्लो बुद्ध मूर्ति निर्माण प्रक्रिया थालिने, पाडाजुँगी चोक, मङ्गलबारे बजार, गेउरिया बजार, रङ्पुर बजार र बाह्रघरेलाई एकीकृत सहरी विकासको रणनीतिक योजनामा समावेश गरी स्मार्ट सिटीका रूपमा विकास गर्नेलगायतका विकास योजना उल्लेख गरिएको छ।

यसैगरी एमालेले स्थानीयस्तरमा जारी गरेको ‘हाम्रो प्रतिबद्धता’मा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिका क्षेत्रअन्तर्गत प्रस्तावित नेपाल–चीन औद्योगिक मैत्रीपार्क निर्माण, दमक मदन भण्डारी रङ्गशाला निर्माण, कमल गाउँपालिकामा आधुनिक सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने, बृहत् बुद्धपार्क निर्माण, दमक बिजनेस सेन्टरको काम पूरा गर्ने, दमकमा बहुतले बसपार्क निर्माण, गौरीगन्ज बजारलाई आधुनिक नगरमा विकास गर्ने, दमक भ्युटावर तथा व्यापारिक केन्द्रलाई पर्यटक केन्द्रका रूपमा विकास गर्ने योजना उल्लेख गरेको छ। कतिपय विकासका योजना दुवै प्रतिस्पर्धीको मिल्दोजुल्दो छ। 

बितेको पाँच वर्षयता देखिने विकास निर्माण झापा निर्वाचन क्षेत्र नं. ५ मा नै भएको छ। १८ तला रहेको बहुआयामिक बिजनेस टावर करिब डेढ अर्ब रुपियाँको लगानीमा निर्माण भइरहेको छ। दमक र इलामको चुलाचुली जोड्न रतुवा पुल तथा दमक र मोरङको मधुमल्लालाई जोड्न मावा पुल निर्माण गरिएको छ। यी दुवै नदीमा पुल नहुँदा पीडा भोग्नुपरेका जनताले पुल निर्माणपछि आर्थिक उन्नतिमा फड्को मार्न सफल भएका छन्। यस निर्वाचन क्षेत्रमा एक दर्जनभन्दा बढी पुल निर्माण गरिएको छ भने यसबाट काठ र बाँसका पुल विस्थापित भएका छन्।

रतुवा र मावा खोलामा तटबन्धनको काम जारी छ। भारतसँग जोडिएको गौरीगन्जमा हुलाकी राजमार्ग कालोपत्रे भइसकेको छ। दमकको बेलडाँगी हुँदै मधुमल्लासँग जोड्ने मदन भण्डारी राजमार्ग निर्माणको काम धमाधम भइरहेको छ। यस क्षेत्रमा अधिकांश सडक फराकिलो र कालोपत्रे बनेका छन्। पाडाजुँगी र गौरीगन्ज जोड्ने सडक फराकिलो बनाउन सुरु गरिएको छ। दमकमा प्रदेश १ कै सबैभन्दा ठूलो सभागृह पनि निर्माण भएको छ। कुल ३४ करोड रुपियाँको लगानीमा दुईवटा हल रहेको सभागृहको क्षमता झन्डै एक हजार आठ सय जना अटाउन सक्ने रहेको छ।

ओली नेतृत्वको तत्कालीन एमाले सरकारले २०७२ सालमा दमकमा विश्वकै अग्लो बुद्ध मूर्ति बनाउने घोषणा गरे पनि काम अगाडि बढ्न सकेको छैन र यस योजनालाई अहिले गठबन्धनले पनि अगाडि सारेको छ। दमकमा मुलुककै सुविधासम्पन्न बहुतले बहुआयामिक बसपार्क निर्माणका लागि पूर्वसरकारले विस्तृत परियोजना अध्ययन गराएको थियो। सो एक अर्ब रुपियाँको लागतमा निर्माण गर्ने योजना थियो।

सबैको दाबी जित्ने

गत प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ मा एमालेलाई माओवादीले सघाएको थियो। यस पटक माओवादीले नेपाली कांग्रेसलाई सघाउँदैछ। एमालेलाई राप्रपाको समर्थन छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दमक नगरपालिकाको प्रमुखमा कांग्रेस र माओवादी केन्द्रको समर्थनमा राप्रपाले जित हासिल गरेको थियो। 

एमालेले गणितका आधारमा आफ्नो जित सुनिश्चित रहेको विश्लेषण गर्दै आएको छ भने कांग्रेसले गठबन्धनका अन्य दलको पनि समर्थन भएकाले विगतको जस्तो पराजयको अवस्था नरहने दाबी गर्दै आएको छ। यस निर्वाचन क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा वडागत मतका आधारमा हेर्दा एमालेले ४१ हजार ६१९, कांग्रेसले २२ हजार २२, माओवादी केन्द्रले १० हजार ७८८, राप्रपाले आठ हजार ३५३ र नेकपा (एकीकृत समाजवादी)ले एक हजार ९८८ मत प्राप्त गरेका थिए। यसमा राप्रपाले एउटा पालिका, एमालेले एउटा पालिका र कांग्रेसले दुईवटा पालिकाका प्रमुखमा जित हासिल गरेको थियो।