• १२ साउन २०८१, शनिबार

सञ्चारकर्मीलाई निर्वाचन अभिमुखीकरण

blog

कबिराज घिमिरे

हिले, कात्तिक २१ गते । जिल्ला निर्वाचन कार्यालय धनकुटाले सञ्चारकर्मीका लागि निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई निष्पक्ष र आचारसंहिता कार्यान्वयनमा सहयोग पुगोस् भनी सो कार्यक्रम आयोजना गरेको हो । 

जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले आचारसंहितासम्बन्धी जानकारी गराउनुभयो । त्यस्तै, नेपाल पत्रकार महासङ्घ धनकुटाका अध्यक्ष नगेन्द्र राईले सञ्चारकर्मीका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत योगेन्द्रप्रसाद शाहले जिल्लामा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । निर्वाचन सफल बनाउन सबै पक्ष गम्भीर हुनुपर्ने उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले रणनीतिक रूपमा सुरक्षित बनाउने उद्देश्यअनुरूप सुरक्षाको सबै निकायलाई मजबुत बनाइएको बताउनुभयो । निर्धक्क भएर मतदाता मतदानमा सहभागी हुनुपर्ने उहाँले सुझाव दिनुभयो । सुरक्षामा कुनै कमी हुन नदिइने उहाँको भनाइ छ । 

कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारको सहभागिता थियो । निर्वाचनका लागि धनकुटामा १ सय १९ मतदानस्थल रहेको छ । १ लाख १६ हजार ९ सय ९१ मतदाता रहेको यहाँ मतदान केन्द्रमा पठाउन आवश्यक सामग्रीको प्याकिङको काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।