• २१ वैशाख २०८१, शुक्रबार

काठमाडौं क्षेत्र २ निर्वाचन

उम्मेदवारका आ–आफ्नै दाबी

blog

सपना थामी

काठमाडौं, कात्तिक २१ गते ।प्रतिनिधिसभा निर्वाचन काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदवारले आगामी निर्वाचनमा जित्ने हुने आ–आफ्ना दाबी पेस गर्नुभएको छ । युवादेखि पाका उम्मेदवार रहनुभएको यस क्षेत्रमा सबैले जित निकाल्ने बताउनुभएको छ । 

पूर्व सभामुखसमेत रहनुभएका नेकपा (माओवादी केन्द्र) का ओनसरी घर्ती गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुनुहुन्छ । यसअघि रोल्पा निर्वाचन क्षेत्र २ बाट निर्वाचित सांसद घर्ती र नेकपा (एमाले) का मणिराम फुयालबीच यस क्षेत्रमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।  

३० उम्मेदवार मैदानमा 

 मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सो क्षेत्रको प्रदेशसभा सदस्य काठमाडौं (क) मा नेपाली कांग्रेसका ध्रुव केसी र प्रदेशसभा काठमाडौं (ख) मा नेकपा (एकीकृत समाजवादी) का भरतप्रसाद फुयाँल उम्मेदवार हुनुहुन्छ । एमालेको तर्फबाट प्रदेशसभा काठमाडौं (क) मा सानुकुमार श्रेष्ठ, प्रदेशसभा काठमाडौं (ख) मा सुवर्ण श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।  

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालका गोपालबहादुर तन्डुकार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कुन्तीदेवी पोखरेल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अनिल श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका मधुसूदन पुडासैनी, जनमत पार्टीका गणेशप्रसाद पुडासैनी, मौलिक जिरोकिलो पार्टीका लक्ष्मण पोखरेल, हाम्रो नेपाली पार्टीका कोषराज सुवेदी, पुनर्जागरण पार्टी नेपालका बिजेन्द्र बस्नेत उम्मेदवार हुनुहुन्छ ।

सोहीअनुसार नेपालका लागि नेपाली पार्टीका राममणि नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महेश बास्तोला, मङ्गोल नेशनल अर्गनाइजेशनको सीता तामाङ, गान्धीवादी पार्टी नेपालको विदुरप्रसाद सिम्खडा, राष्ट्रिय जनमुक्ति पार्टीका चिरञ्जीवी राई, नेपाली कांग्रेस (बी.पी.) का हेमविक्रम सिलवाल, नेपालवादका ईश्वर गौतम, विवेकशील साझा पार्टीका धनेज थापा, सचेत नेपाली पार्टीका पुण्यप्रसाद प्रसाईँ र राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम गरी राजनीतिक दलका २० र स्वतन्त्र दशगरी ३० उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । 

विजयको आ–आफ्नै दाबी 

आगामी निर्वाचनको घरदैलो कार्यक्रममा व्यस्त रहनुभएकी उम्मेदवार घर्तीले मतदाता भेटघाट कार्यक्रम एकदमै उत्साहपूर्ण रहेको बताउनुभयो । गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “घरदैलो कार्यक्रम सुरु भएदेखि नै कोणसभा, सभाहरूका कार्यक्रम भइरहेका छन् । एकदमै स्वागतका साथ उत्साहपूर्ण प्रतिक्रिया प्राप्त भएको छ ।”

आफू निर्वाचित भएमा जोरपाटी–साँखु सडकखण्ड स्तरोन्नतिको कार्य मुख्य प्राथमिकतामा राख्ने  उहाँले ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक नगरी एवम् साँखु, शाली नदी लगायतका पर्यटकीय क्षेत्रको विकासका विभिन्न प्रतिबद्धता व्यक्त गर्नुभयो । यससँगै ट्राफिक जाम व्यवस्थापन, युवालाई रोजगारी, खेलकुद क्षेत्रको विकासलगायतका कार्यक्रममा जोड दिइने उहाँको भनाइ छ । 

यस्तै, एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका मणिराम फुयाँलले चुनावमा आन्तरिक तयारीलाई मुख्य जोड दिइएको बताउनुभयो । फुयाँले भन्नुभयो, “आन्तरिक तयारीकै योजनामा जोड दिएअनुरुप अघि बढेका छौँ । भेटघाट गर्ने । अब, मतदातासँग यसअघि पनि भेटघाट त भइहाल्थ्यो, एकदम सकारात्मक प्रतिक्रिया पाइरहेका छौँ ।” आफ्नो विजय सुनिश्चित रहेको उहाँले सुनाउनुभयो । 

गठबन्धनका मुख्य प्रतिस्पर्धीका रूपमा रहनुभएका फुयाँल निर्वाचनमा नेतृत्व तहमा गठबन्धन हुनु स्वाभाविक भएको र कतिपय तल्लो तहमा गठबन्धन हुन नसकेको बताउनुभयो ।  

उहाँले भन्नुभयो, “नेतृत्वमा गठबन्धन भए पनि कतिपय स्थानको तल्लो तहमा गठबन्धन नभएको देखिन्छ, काठमाडौं २ को मा पनि यस्तै परिस्थिति छ ।” 

रोजाइमा सक्षम उम्मेदवार

२७ देखि ६२ वर्षसम्मका उमेर समूहका उम्मेदवार रहेको यस क्षेत्रमा विभिन्न दश स्वतन्त्र उम्मेदवार अधिकांश २७ देखि ४० वर्षका उमेरका हुनुहुन्छ । साना दलदेखि स्वतन्त्र उम्मेदवारहरू चुनावी घरदैलो अभियानमा व्यस्त रहनुभएको छ । 

काठमाडौं २ प्रतिनिधिसभा सदस्यमा विवेकशील साझा पार्टीका ४० वर्षीय उम्मेदवार धनेज थापाले ठूला सभाभन्दा साना कोणसभालाई बढी प्राथमिकतामा राखेर चुनावी गतिविधि अगाडि बढेको बताउनुभयो ।

थापाले आमनागरिक यसमा पनि युवा वर्गमा अझै राजनीतिक दलप्रति वितृष्णा बढेको भन्नुहुँदै नयाँ उम्मेदवार एवम् स्वतन्त्रले जित्ने अवस्था रहेको उहाँले दाबी गर्नुभयो । तर कतिपय स्थानमा नयाँ अनुहार आए पनि योग्य, सक्षम र इमानदार व्यक्तिलाई विचार गरेर मात्रै भोट दिनुपर्छ भन्ने सचेतना मतदातामा बढेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “कति ठाउँमा पार्टीप्रति वितृष्णा बढ्दो छ । चर्चा, लहर र रहरका लागि आएको हो कि भनेर पार्टीभन्दा व्यक्ति हेरिएको अवस्था पनि छ ।” विवेकशील साझाको पछिल्लो समय गतिविधि जे भए पनि, सक्षम उम्मेदवार हो भनेर प्रतिक्रिया राम्रो आइरहेको छ ।” 

प्राप्त हुने यकिन मत नभए पनि यस पटक उम्मेदवार सङ्ख्या धेरै भएकाले मत विभाजन हुने उहाँको भनाइ छ । करिब १५ हजारको हाराहारीमा मत प्राप्त हुँदा आफू विजयी हुने उहाँले विश्वास सुनाउनुभयो ।  

स्थानीय तह २०७९ परिणाम

काठमाडौं २ निर्वाचन क्षेत्र अन्तर्गत काठमाडौं महानगरपालिकाका वडाहरू ९ र ३२, कागेश्वरी मनहरा नगरपालिकाका वडाहरू ४, ५, ६, ७, ८, ९ र शंखरापुर नगरपालिका यस क्षेत्रमा पर्छन् । 

जसमा, प्रदेश (क) अन्तर्गतको क्षेत्र पर्ने काठमाडौं महानगरको वडा ९ मा कांग्रेसका रामजी भण्डारीले २ हजार ७९० मत र वडा ३२ मा एमालेका नवराज पराजुली ५ हजार २२५ मतले विजयी हुनुभएको थियो । 

राप्रपाको शक्ति 

यसैगरी प्रदेश (ख) अन्तर्गत पर्ने शंखरापुर नगरपालिका प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीको रमेश नापितले ४ हजार ७०० मत र उपप्रमुखमा कांग्रेसकी समिता श्रेष्ठ ६ हजार ३६२ मतले विजयी हुनुभएको थियो । 

नगरप्रमुखमा एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठ ४ हजार २०२ मतले दोस्रो, एमालेका कृष्णलाल बजगाईँ ३ हजार ६२२ मतले तेस्रो, माओवादी केन्द्रका मधु केसी २ हजार २४४ मतसहित चौथो स्थानमा हुनुहुन्थ्यो ।

यो पनि पढ्नुहोस

शंखरापुरको नौ वडामध्ये कांग्रेसले वडाहरू २, ४, ८ र ९ गरी चार स्थानमा, राप्रपाले वडाहरू ६, ७, ८ गरी तीन र एमालेले वडा ५ र माओवादीले वडा १ गरी जम्मा एक–एक वडा जितेका थिए । 

कागेश्वरी नपाको वडा –४ मा एमालेका विजय श्रेष्ठले एक हजार ३९४ मतसहित वडा ५ मा कांग्रेसका शङ्कर पाण्डेले ६५१ मत, वडा ६ मा एकीकृत समाजवादीका प्रकाश फुयाँल १ हजार १२१ मत, वडा ७ मा कांग्रेसका भीमसेन थापाले १ हजार २३१ मत, वडा ८ मा कांग्रेसका हरिभक्त पुडासैनीले १ हजार ६०८ मत, वडा ९ मा कांग्रेसका अनिल थापाले १ हजार ५०२ मतसहित विजयी हुनुभयो । 

२०७४ को परिणाम

नेपालको संविधान २०७२ जारी भएपछिको सङ्घीय संरचनाअन्तर्गत २०७४ मा भएको पहिलो ऐतिहासिक निर्वाचनमा काठमाडौं २ मा एमालेबाट माधवकुमार नेपाल २७ हजार ३६६ (५३.३९ प्रतिशत) मतसहित विजयी हुनुभएको थियो । एमाले विभाजनपछि उहाँ एकीकृत समाजवादीको अध्यक्ष हुनुहुन्छ । यस पटक रौतहट १ बाट आगामी निर्वाचनमा उम्मेदवार हुनुहुन्छ । 

यसअघि नेपालसँगको प्रतिस्पर्धा यस क्षेत्रमा कांग्रेसका दीपकप्रसाद कुइँकेलले १४ हजार ९०३ (२९.०८ प्रतिशत) मतसहित दोस्रो र विवेकशील साझा पार्टीका सूर्यराज आचार्य सात हजार ४३७ (१४.५१ प्रतिशत) सहित तेस्रो हुनुभएको थियो । कुल मतदाता ७४ हजार ७५५ रहेकोमा ५३ हजार ४५ मत खसेको थियो ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।