काठमाडौं, कात्तिक २१ गते । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । विसं. २०७४ को निर्वाचन प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र एमालेका नेता डा. राजन भट्टराई यसपटक पनि चुनावी मैदानमा हुनुहुन्छ ।
विसं २०७४ को निर्वाचनमा थापाले भट्टराईलाई पराजित गर्नुभएको थियो । गत निर्वाचनमा विजयी थापाले २१ हजार ५५८ मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला भट्टराईलाई वाम गठबन्धन (एमाले–माओवादी)को समर्थन थियो । तर यसपटक भने एमाले एक्लै चुनावीमा मैदानमा छ । थापालाई सत्ता गठबन्धनको समर्थन छ ।
वाम गठबन्धन हुँदासमेत भट्टराईलाई तीन हजार मतको अन्तरले पराजित गर्नुभएका थापाले यसपटक पनि दुबैको कडा प्रतिस्पर्धा हुने देखिएको छ । गत वैशाखमा भएको स्थानीय तहको मतपरिणामलाई केलाउँदा पनि सो क्षेत्रमा गठबन्धन बलियो देखिएकोे छ । उक्त क्षेत्रमा कुल १२ वडामध्ये एमाले नौ र कांग्रेस तीन वडामा विजयी भएको छ ।
सो क्षेत्रमा एमालेले काठमाडौं महानगरपालिकाको १ र बूढानीलकण्ठ नगरपालिकाका आठ वडा क्रमशः १, २, ८, ९, १०, ११, १२ र १३ मा जित हासिल गरेको छ । कांग्रेसले काठमाडौं महानगरका ७, ८ र ३० वडामा जित हासिल गरेकोे छ । स्थानीय तहको निर्वाचनमा १२ वडामा एमालेका वडाध्यक्षले १६ हजार ५०७ मत प्राप्त गरेका थिए । यस्तै नेपाली कांग्रेसका वडाध्यक्षले १५ हजार ७६३ मत प्राप्त गरेका थिए ।
त्यस्तै, एकीकृत समाजवादीका वडाध्यक्षले दुई हजार चार सय १४ र माओवादी केन्द्रले ८२८ मत प्राप्त गरेका थिए । वडाध्यक्षले पाएको मतका आधारमा सत्ता गठबन्धन एमालेभन्दा दुई हजार १९८ मतले अगाडि छ । सो क्षेत्रमा कांग्रेसका थापा र एमालेका भट्टराईसहित हाम्रो नेपाली पार्टीबाट अर्चन शम्शेर राणा, एकीकृत शक्ति नेपालबाट नवराज भण्डारी, आमूल परिवर्तन मसिहा पार्टीबाट ध्रुवराज गिरी, नेपाल मजदुर किसान पार्टीबाट रमेश डङ्गोललगायतको उम्मेदवारी छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ काठमाडौं क्षेत्र नं ४ मा ३३ मतदानस्थल र ८२ मतदान केन्द्र निर्धारण गरिएको छ । सो क्षेत्रमा ६९ हजार ७५२ मतदाताको सङ्ख्या छ । तीमध्ये ३३ हजार ४७४ पुरुष र ३६ हजार २७७ महिला छन् । अन्य मतदाताको सङ्ख्या एक छ ।