• १२ मंसिर २०८१, बुधबार

संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा

blog

निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्रको उद्घाटन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया । तस्बिर : निर्वाचन आयोग

काठमाडौं, कात्तिक २१ गते । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन, सुरक्षा र अनुगमनका कार्यमा समन्वय बढाउन निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा आएको छ । आयोगले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग पुर्‍याउन सो केन्द्र सञ्चालनमा ल्याएको हो ।

केन्द्रको उद्घाटन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले केन्द्रमा खटिने कर्मचारीले मुख्यतः पाँच महत्त्वपूर्ण काम गर्नुपर्ने बताउनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले, ‘‘संयुक्त निर्वाचन सञ्चालन केन्द्रको क्रियाशीलताले स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गले निर्वाचन सम्पन्न हुने विश्वास छ ।”

आयोगले आज (सोमबार) देखि नै पहाडी जिल्लाका मतदानकेन्द्रमा कर्मचारी खटाउन सुरु गरेको छ । केन्द्रले तत्काल निर्णय गर्नुपर्ने उल्लेख गर्नुहुँदै उहाँले केन्द्रमा खटिने कर्मचारीहरू आयोगप्रति उत्तरदायी हुने बताउनुभयो ।

आयोगले आजैदेखि वडास्तरमा मतदाता शिक्षा कार्यक्रम पनि सुरु गरेको जानकारी दिँदै प्रत्येक ठाउँमा सामाजिक परिचालक पुगे वा नपुगेको सूचना लिने तथा आवश्यक पर्दा निर्वाचन सुरक्षा र निर्वाचनसँग सम्बन्धित विषयमा तत्काल निर्णय लिनुपर्ने उहाँले बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनको तयारीका क्रममा सामग्री र जनशक्ति व्यवस्थापन, सुरक्षा प्रबन्ध र अनुगमनको मिहिन विश्लेषण गरेर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा सम्बोधन गर्ने संयन्त्र विकास गरिएको बताउनुभयो ।

उहाँले केन्द्रले मतदानस्थलसम्म सिधै र नियमित सम्पर्क राख्नुपर्ने, खटिएका कर्मचारी सम्बन्धित स्थलमा पुगे/नपुगेको जानकारी लिने, वडास्तरमा जारी मतदाता शिक्षा सञ्चालनको अवस्था बुझ्ने, आचारसंहिता कार्यान्वयन र परिपालनामा आवश्यक सघाउने, जिल्लास्थित निर्वाचन कमान्ड सेलसँग समन्वय बढाउने तथा मतदानपछि मतपेटिका र गणनाको सुरक्षालगायतका विषयमा आवश्यक समन्वय र सहयोग गर्नुपर्ने कार्यादेशबारे स्पष्ट गर्नुभयो ।

आयोगका सचिवको संयोजकत्वमा रहने केन्द्रमा गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहका नेतृत्व तथा आयोगका आवश्यक कर्मचारीहरू रहनेछन् ।

निर्वाचन सुरक्षा व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०७९ तथा निर्वाचन अनुगमन (पहिलो संशोधन) निर्देशिका, २०७९ अनुसार स्थापित केन्द्रले देशभर निर्वाचनबारे भइरहेका व्यवस्थापन, सुरक्षा र अनुगमनका कामलाई अझ प्रभावकारी बनाउन समन्वय बढाउने विश्वास गरिएको छ ।