• १३ साउन २०८१, आइतबार

चार हिमाली जिल्लामा निर्वाचन सामग्री ढुवानी

blog

हुम्ला समाचारदाता

हुम्ला, कात्तिक २० गते । प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि चारै किसिमका मतपत्र र निर्वाचन सामग्री कर्णालीका चार जिल्लामा ढुवानी भएको छ। सडक यातायात नजोडिएको कर्णालीका हिमाली हुम्ला र डोल्पालगायत जुम्ला र मुगुमा पनि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेतदेखि ती सामग्री र मतपत्र ढुवानी भएका हुन्। 

कर्णाली प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले शनिबारसम्म चारवटै हिमाली जिल्लामा मतपत्र र निर्वाचन सामग्री पुगेको बताउनुभयो। उहाँले शुक्रबार बेलुका र शनिबार बिहान डोल्पा र हुम्ला जिल्लामा सेनाको हेलिकोप्टरबाट मतपत्र र निर्वाचन सामग्री पुगेपछि सडक यातायात सहज नभएका सबै जिल्लामा पुगेको जनाउनुभयो। उहाँले विशेष गरी यी दुई जिल्लामा मतपत्र पुगेपछि अब सहज भएको जानकारी दिनुभयो। 

यसअघि जुम्ला र मुगु जिल्लाका लागि पनि हेलिकोप्टरबाट मतपत्र र निर्वाचन सामग्री ढुवानी भइसकेको छ। उहाँले पैदेशका अन्य छवटा जिल्ला कालीकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम र सुर्खेतमा पैदल मार्गबाट ती सामग्री गाडीबाट पठाइएको बताउनुभयो। निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र र ५८ प्रकारका सामग्री प्रदेशका सबै जिल्लामा पुग्ने पुगिसकेपछि निर्वाचनको तयारी करिब करिब पूरा भएको उहाँको भनाइ छ। प्रदेशका हिमाली जिल्लामा हेलिकोप्टर चार्टर गरेर मतपत्र पु-याइएको छ। 

यसैबीच हुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकृत श्यामबहादुर रानाले निर्वाचनका लागि आवश्यक पर्ने १५० पेटी मतपत्र र ४३ प्रकारमा निर्वाचन प्रयोजनका सामग्री जिल्लामा आइपुगेको जानकारी दिनुभयो। उहाँले सबै प्रकारका मतपत्र मुख्य निर्वाचन अधिकृत र निर्वाचन सामग्री निर्वाचन कार्यालयमा राख्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। यसअघि नेपालगञ्जबाट हवाई जहाजबाट मतदान शिक्षासम्बन्धी सामग्री जिल्लामा आएको र हाल मतदाता शिक्षा कार्यक्रम जिल्लाका ४४ वटै वडामा लागू भइसकेको छ।