सुर्खेत समाचारदाता
सुर्खेत, असार २४ गते । प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्रलाई संरक्षण र व्यवस्थापनको गुरुयोजना निर्माण गरिएको छ । भू तथा जलाधार व्यवस्थापन कार्यालयले सो गुरुयोजना निर्माण गरी कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई सोबारे अवगत गराएको छ ।
सो क्रममा मुख्यमन्त्री कँडेलले सुर्खेत उपत्यकाको उत्तरी जलाधार क्षेत्र संरक्षण तथा व्यवस्थापन अपरिहार्य भएको बताउनुभएको छ । उहाँले उत्तरी जलाधार क्षेत्रलाई संरक्षण गरी वीरेन्द्रनगरको खानेपानीको सङ्कट टार्न जलस्रोत क्षेत्रको दीर्घकालीन सुरक्षा र व्यवस्थापनमा सबैको ध्यान जानुपर्ने सुझाव दिनुभयो । सामुदायिक वनमा अव्यस्थित प्राकृतिक वनस्पति तथा जैविक विविधताको संरक्षण अहिलेको आवश्यकता भएको भन्दै उहाँले भन्नुभयो, “वीरेन्द्रनगर उपत्यकामा खानेपानी अभाव बढ्दो छ, यस्तो अवस्थामा उत्तरी भेगको जलाधार क्षेत्र जहाँ स्रोत छन् त्यहाँ संरक्षण नगरी समाधान सम्भव छैन, ढलेका रुख र सडेका रुखबाहेक अन्य वनस्पतिको कटानी नियन्त्रणमा ल्याउनु पर्दछ ।”
यस्तै जलाधार क्षेत्रको वैज्ञानिक संरक्षण र दीर्घकालीन व्यवस्थापनका लागि गुरुयोजना निर्माण कार्यलाई प्रदेश सरकारले पनि उच्च प्राथमिकतामा राखेको जानकारी उहाँले दिनुभयो । योजनाको कार्यान्वयनमा स्थानीय तह, वन उपभोक्ता समूह, विज्ञ, नागरिक समाज र प्रदेश सरकारबिचको सहकार्य आवश्यक रहेको मुख्यमन्त्री कँडेलले बताउनुभयो । भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शिखर चपाईले उत्तरी जलाधार क्षेत्रको संरक्षण र व्यवस्थापनको गुरुयोजना तयार गरिएको बताउनुभयो । जलाधार क्षेत्रलाई संरक्षण गर्न रिचार्ज पोखरी बनाउनेलगायतका काम गरिने जनाइएको छ ।
वीरेन्द्रनगर नगरपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रममा उत्तरी जलाधार क्षेत्रको संरक्षणको कामलाई समावेश गरेको छ । कार्यक्रममा कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगी, जिल्ला समन्वय समितिका प्रमुख गङ्गाराम सुनारलगायतको उपस्थिति रहेको थियो भने सहभागीले जलाधार क्षेत्रको दीर्घकालीन संरक्षण, भूक्षय न्यूनीकरण, पानीको पुनः भरण क्षमता अभिवृद्धि र वन सम्पदाको दिगो उपयोगका लागि गुरुयोजना महत्वपूर्ण हुने धारणा राखेका थिए ।