• १२ साउन २०८१, शनिबार

पहिलेका सहकर्मी अहिले प्रतिस्पर्धी

blog

राधा लुइँटेल

फिदिम, कात्तिक २० गते । प्रदेश सभा सदस्यका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको पाँचथरको प्रदेश सभा (क)को चुनावी माहोल रोचक बन्दै गएको छ। यहाँका मुख्य प्रतिस्पर्धी हिजो एउटै पार्टीमा रहेका नेताहरू हुनुहुन्छ। यहाँबाट प्रदेश सभा सदस्य पदका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट जिल्ला अध्यक्ष राजकुमार भण्डारी र सत्ता गठबन्धनका तर्फबाट नेकपा एसका जिल्ला अध्यक्ष कमलप्रसाद जबेगु उम्मेद्वार बन्नुभएको छ।

लामो समयसम्म नेकपा एमालेमा रही पार्टीभित्र आन्तरिक प्रतिस्पर्धासँगै सङ्गठन निर्माण गर्नुभएका भण्डारी र जबेगु आमनेसामने भएपछि यहाँको चुनावी माहोल थप रोचक बनेको हो।

२०७१ सालमा सम्पन्न एमाले पाँचथरको सातौँ अधिवेशनमा जबेगु र भण्डारीबीच अध्यक्ष पदमा प्रतिस्पर्धा भएको थियो। त्यो बेला भण्डारीले जबेगुलाई सात मतले हराएर एमालेको जिल्ला अध्यक्ष बन्नुभएको थियो।

यस पटक जबेगु र भण्डारी फरक–फरक दलबाट एउटै पदका लागि चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। जिल्लामा सत्ता गठबन्धनका साझा उम्मेदवार बन्नुभएका जबेगुलाई नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एकीकृत माओवादीको साथ छ। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि सत्ता गठबन्धन र एमाले नै मुख्य प्रतिस्पर्धी थिए। उक्त निर्वाचनमा यस निर्वाचन क्षेत्रमा पर्ने चारमध्ये फालेलुङ, हिलिहाङ र फिदिम गरी तीनवटा स्थानीय तहमा कांग्रेस र याङवरक गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका थिए। गठबन्धनको बलियो साथसँगै एमालेमा आएको फुटका कारण आफ्नो जित निश्चित हुने जबेगु दाबी गर्नुहुन्छ।

एकीकृत समाजवादीको कमजोर साङ्गठनिक संरचना र कांग्रेसभित्रको असन्तुष्टिसँगै कांग्रेसबाटै गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवारी परेकाले आफ्नो जित सुनिश्चित रहेको एमालेका उम्मेदवार भण्डारीको तर्क छ।

यहाँ गठबन्धनकै दल कांग्रेसका नेता तथा फालेलुङ गाउँ पालिकाका पूर्वअध्यक्ष सञ्चकुमार केरुङ स्वतन्त्र उम्मेदवार बनेर चुनावी प्रचारमा होमिनुभएको छ।

स्थानीय चुनावपछि नेकपा एसका केही नेता कार्यकर्ता एमालेमा फर्कनुका साथै गठबन्धनका बागी उम्मेदवारको प्रभावले मतान्तर साँघुरिने भएकाले प्रतिस्पर्धा झनै रोचक भएको हो।

यस क्षेत्रमा एमाले, नेकपा एस, लिम्वुवान, जनमुक्ति, मङ्गोल नेसनल अर्गनाइजेसन र स्वतन्त्र गरी नौ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।