• १२ साउन २०८१, शनिबार

गाउँमा छैन चुनावी रौनक

blog

कविराज घिमिरे 

हिले, कात्तिक २० गते । धनकुटा नगरपालिका वडा नम्बर ७ टोड्के गाउँका टेकबहादुर विकलाई मङ्सिर ४ गते हुने निर्वाचनले छोएको छैन। अघिल्ला निर्वाचनमा उत्साहको साथ निर्वाचनमा लाग्नुभएका उहाँलाई यो निर्वाचन र उम्मेदवारप्रति कुनै आशा नै छैन। विकलाईमात्र हैन, टोड्के गाउँका अन्य मतदातालाई पनि उस्तै छ। 

धनकुटा नगरपालिका वडा नम्बर ७ मा पर्ने यो गाउँ धनकुटा बजारसँगको सबैभन्दा नजिकको गाउँ हो। अघिल्ला निर्वाचनहरूमा निर्वाचन नजिकिँदै गर्दा यो गाउँ पनि चुनावी माहोलले तातिन्थ्यो। उम्मेदवारहरूसँगै उनीहरू पनि भोट माग्न हिँड्थे तर यो वर्ष यहाँका मतदातालाई निर्वाचनको वास्तै छैन। 

टोड्केका मतदातालाई निर्वाचन र उम्मेदवारप्रति वितृष्णा हुनुको कारण एउटै छ, नेताले चुनावको बेला विभिन्न वाचा गर्ने तर जितेर गएपछि बेवास्ता गर्ने इतिहास। चुनाव जितेर गएपछि जनता सामु गरेका वाचा भुल्ने गरेको विकको गुनासो छ।

 यो गाउँमा करिब तीन दर्जन घरपरिवार छन्। त्यसमध्ये अधिकांश दलित परिवारको बसोबास छ। धुले भए पनि गाउँसम्म सडक त पुगेको छ। बिजुली र पानी दुःख सुख पुगेकै छ तर गाउँमा रोजगार, स्वास्थ्य, शिक्षाको अवस्था नाजुक छ। बेरोजगारीकै कारण गाउँका युवा कि गाउँ बाहिर छन् कि देश बाहिर। जीविकोपार्जनसँग जोडिएका काम गरी गाउँमै रोजगारी सिर्जना तथा भएको सडकको स्तरोन्नती गर्न, स्वास्थ्य, शिक्षाको सहज पहुँच गराउन स्थानीयको माग छ। “स्थानीय स्तरमै रोजगारीको अवसर हुनुप-यो, स्वास्थ्य, शिक्षाको पहुँच हुनुप-यो।” स्थानीय कुमार विक भन्नुहुन्छ। त्यस्तै पूरा गर्नसक्ने वाचाहरू मात्र गर्न र दुःख, सुखमा साथ दिन स्थानीय चन्द्रकला विकको सुझाव छ।  

यो समस्या टोड्के गाउँको मात्र हैन, यो धनकुटाका अधिकांश ग्रामीण क्षेत्रको हो। राजनीतिक खिचातानी, धेरै आश्वासन देखाउने काम केही नगर्ने, भएको सामान्य काममा समेत जस लिने होडले राजनीतिक दल र तिनका नेताप्रतिको वितृष्णा बढ्दो स्थानीयको बोलीमा सुन्न सकिन्छ।  जसको असर अरु बेला कम देखिए पनि चुनावमा प्रत्यक्ष रूपमा देखिन थालेको छ। आउँदो निर्वाचनका लागि उम्मेदवारहरूले प्रचारप्रसारलाई तीब्र बनाएका छन्। टोलटोलमा पुगेर भेला तथा घरदैलो गर्दै चुनावी भोट मागिरहेका छन्। तर गाउँ बस्तीमा भने चुनावको खासै रौनक देखिंदैन।