• १३ असोज २०८१, आइतबार

साफ यू-१५ महिला फुटबल : नेपालको दोस्रो जित

blog

नेपाली महिला टोली ।

काठमाडौं, कात्तिक १९ गते । नेपालले बङ्गलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । ढाकामा शनिबार भएको खेलमा नेपालले घरेलु टोली बङ्गलादेशलाई १-० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा नेपालका लागि वर्षा ओलीले निर्णायक गोल गर्नुभयो । वर्षाले ८७औँ मिनेटमा गोल गर्दै नेपाललाई दोस्रो जित दिलाउनुभयो । वर्षाले यसअघि भुटानविरुद्धको खेलमा पनि एक्लै चार गोल गर्नुभएको थियो ।

नेपालले पहिलो खेलमा भुटानलाई ७-० गोलले हराएको थियो । जितसँगै ६ अङ्क बनाएको नेपाल तालिकाको शीर्षस्थानमा छ । तीन देश सहभागी च्याम्पियनसिपमा तीन अङ्क बनाएको बङ्गलादेश दोस्रो स्थानमा छ । अङ्कविहीन भुटान अन्तिममा छ । 

बङ्गलादेशले पहिलो खेलमा भुटानलाई ८-० गोलले हराएको थियो । डबल राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगितामा नेपालले अब बुधबार भुटान र शुक्रबार पुनः बङ्गलादेशसँग खेल्नेछ । डबल राउन्ड पछि शीर्ष टोली च्याम्पियन बन्नेछ ।