• १३ असोज २०८१, आइतबार

घोडेपानीमा घोडा दौड प्रतियोगिता

blog

म्याग्दी, कात्तिक १९ गते । म्याग्दीको पर्यटकीय स्थल घोडेपानीमा तेस्रो घोडा दौड प्रतियोगिता गरिएको छ । अन्नपूर्ण गाउँपालिका ६ स्थित घोडेपानीमा पर्यटकलाई आकर्षित गर्न बिहीबार घोडा दौड प्रतियोगिता आयोजना गरिएको हो । 

प्रतियोगितामा १६ जना घोडा धावक सहभागी भएका थिए । कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । अन्नपूर्ण गाउँपालिका–५ घोप्टिखर्क देखि घोडेपानीसम्मको सात दशमलव पाँच किलोमिटर दुरी २५ मिनेट ३८ सेकेन्डमा पार गरेर गुरुङको घोडा पहिलो भएको घोडे पानी टोल सुधार समितिका अध्यक्ष विरेन गर्बुजा पुनले जानकारी दिनुभयो । 

२५ मिनेट ५३ सेकेन्डमा दुरी पार गरेका घोडेपानीका याम पुन दोस्रो र कास्कीको छोम्रोङका सुमित गुरुङले २६ मिनेट ५४ सेकेन्डमा निर्धारित दुरी पार गरेर तेस्रो हुनुभएको हो । घोडे पानी घोडा व्यवसायी समितिले प्रतियोगिता आयोजना गरेको हो । 

प्रतियोगितामा विजयी भएका प्रथम,द्वितीय र तृतीयलाई क्रमशः  ५१ हजार, ३१ हजार र २१ हजार रूपियाँ नगद पुरस्कार, ट्रफि र प्रमाणपत्र वितरण गरिएको थियो । अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष क्याप्टेन डमबहादुर पुनले प्रतियोगिता उद्घाटन गर्नुभएको थियो । 

“घोडेपानीको पर्यटन विकासमा घोडाको योगदान छ,” उहाँले भन्नुभयो “सौखिन पर्यटकहरू घोडा चढेर यात्रा गर्न रुचाउँछन् । हिँड्न नसक्ने पर्यटकहरू घोडा चढेर गन्तव्यमा पुग्न पाएका छन् । घोडा पालनबाट ढुवानीमा सहजताका साथै रोजगारी र आयआर्जनमा पनि सहयोग पुगेको छ । ” 

प्रतियोगितामा विजयीहरूलाई घोडे पानी होटेल व्यवस्थापन समितिका अध्यक्ष मिना पुन, युवा क्लबका अध्यक्ष मिम बुद्धुजा, कोषाध्यक्ष सपना गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभयो । घोडे पानी युवा क्लब, आमा समूह, पर्यटन व्यवस्थापन उपसमिति र टोल सुधार समितिसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो ।  

पर्यटन प्रवर्द्धन र घोडाको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको घोडे पानी घोडा व्यवसायी समितिका अध्यक्ष याम पुनले बताउनुभयो । घोडा दौड अवलोकनका लागि स्थानीयवासीको साथै पर्यटकहरूको पनि उपस्थिति थियो ।

पुन हिल र घोडेपानीबाट सूर्योदय, हिमाल, पहाडी भूगोल, जङ्गलको मनमोहक दृश्य अवलोकन गर्न पर्यटकहरू आउने गर्छन् । म्याग्दीको प्रमुख पर्यटकीय गन्तव्य घोडे पानी विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको छ । 

घोडे पानी र घोडाको सम्बन्ध छ । परापूर्व कालमा घोडे पानी भोटमा नुन लिन जाने, दामोदर कुण्डको तीर्थयात्रा गर्ने र चिनीयाहरुलाई भारतीय बजार जाने आउने गर्ने बाटोमा थियो । समुन्द्री सतहदेखि करिब दुई हजार ८०० मिटरको उचाइमा रहेको घोडेपानीमा बटुवाहरूले घोडालाई पानी खुवाउने गरेकाले घोडे पानी नाम रहन गएको किम्बदन्ती छ । 



Author

ठाकुर प्रसाद आचार्य