• १२ साउन २०८१, शनिबार

खोटाङमा कडा प्रतिस्पर्धा

blog

राजकुमार भट्टराई 

खोटाङ, कात्तिक १९ गते । आगामी मङ्सिर ४ गते हुने आमनिर्वाचनमा खोटाङबाट प्रतिनिधि सभातर्फ कडा प्रतिस्पर्धा हुने देखिएको छ।

प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई र वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार प्रदेश १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नेकपा (माओवादी केन्द्र)का रामकुमार राई (पासाङ)बीच कडा प्रतिस्पर्धा हुने देखिएको हो।

वि.सं. २०७४ मा भएको निर्वाचनमा सहयात्री भट्टराई र राई अहिले प्रतिस्पर्धी हुनुहुन्छ। सहयात्री बनेर खोटाङबाट भट्टराई प्रतिनिधि सभा सांसद र राई प्रदेश सभा ‘ख’बाट सांसदमा निर्वाचित भई पार्टीको प्रमुख सचेतक र मन्त्री बन्नुभएको थियो। गत वैशाख ३० मा भएको स्थानीय तहको चुनावको मतका आधारमा तुलनात्मक रूपमा जिल्लामा नेकपा (माओवादी केन्द्र)भन्दा नेकपा (एमाले) अगाडि छ। माओवादीका उम्मेदवार राईलाई भने नेपाली कांग्रेस र एकीकृत समाजवादीको साथ हुँदा एमालेका उम्मेदवार भट्टराईलाई जित्न सहज देखिँदैन।  

गत स्थानीय तहको चुनावमा १० वटामध्ये छवटा पालिकामा गठबन्धन भएकाले एमालेबाहेक कुन राजनीति दलले कति मत पाए भन्न सकिन्न। यद्यपि उक्त गठबन्धन आगामी निर्वाचनमा पनि कायम रहेकाले पालिका (प्रमुख/अध्यक्ष)को मत परिणामअनुसार एमालेभन्दा गठबन्धन करिब १२ हजार मतले अगाडि छ।

स्थानीय तह निर्वाचनमा गठबन्धनका दुई नगरप्रमुख र आठ गाउँपालिका अध्यक्षका उम्मेदवारलाई ४४ हजार ४०२ मत आउँदा एमालेका दुई प्रमुख र आठ गाउँपालिका अध्यक्षका उम्मेदवारलाई ३१ हजार ९९० मत आएको देखिन्छ। स्थानीय तहको निर्वाचनमा मत आएजसरी नै मत आउने निश्चित छैन। खोटाङमा गठबन्धन एक भएर उभिएको देखिँदैन। सिट भागबन्डामा कांग्रेसलाई अन्याय गरेको भन्दै कांग्रेसका नेताहरूले असन्तुष्टि जनाउँदै आएका छन्। 

एकमात्र प्रतिनिधि सभा रहेको खोटाङमा प्रतिनिधि सभा माओवादीलाई, प्रदेश सभा (क) एकीकृत समाजवादीलाई र प्रदेश सभा (ख) कांग्रेसलाई भाग परेको छ। प्रदेश सभा (क) एकीकृत समाजवादीको भागमा परेपछि करिब १५ सय मत रहेको पार्टीका उम्मेदवारलाई १६ हजार मत दिन नसकिने भन्दै कांग्रेसले महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेललाई स्वतन्त्र उम्मेदवार उठाएको छ। प्रदेश सभा (क)मा कांग्रेसका स्वतन्त्र उम्मेदवारलाई माओवादीले मत दिए मात्र प्रतिनिधि सभामा माओवादीका उम्मेदवारलाई मत दिने भन्दै कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईसहितका नेता गठबन्धनको पक्षमा उभिनुभएको छैन। 

गठबन्धनमा सहमति नआएमा एमालेका उम्मेदवार भट्टराईको पक्षमा नतिजा जान सक्ने उत्तिकै सम्भावना छ। यसले गर्दा भट्टराई र राई कसले चुनाव जित्ने भन्ने अहिल्यै यकिन गर्न सकिने अवस्था छैन।