• ११ असोज २०८१, शुक्रबार

मेरो प्रतिस्पर्धामा कोही छैन : सचिव विष्ट

blog

बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव गोकर्ण बिष्ट । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, कात्तिक १८ गते । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले गुल्मी २ मा आफ्नो प्रतिस्पर्धी कोही नभएको बताउनुभएको छ । निर्वाचनपछि नेकपा (एकीकृत समाजवादी) को राजनीतिक भविष्य पनि सकिने उहाँको दाबी छ । 

गुल्मी –२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनुभएका नेता विष्टले शुक्रबार बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै सो कुरा बताउनुभएको हो । एस पार्टीबाट देशभर एमालेमा फर्किने क्रम निरन्तर बढदैगएको नेता विष्टले बताउनुभयो । खुद्रा पसल चुनावपछि पूर्णरूपमा बन्द हुन्छ, उहाँले भन्नुभयो । 

प्रतिस्पर्धामा रहनुभएका रामकुमारी झाँक्रीलाई लक्षित गर्दै उम्मेदवार विष्टले भन्नुभयो, “पर्यटन प्रवर्द्धन गर्न गाउँ डुलेजस्तै गरेको देखेको छु । सांसद हुँदा १० हजार बजेट कहीँ हालेको प्रमाण भेटिएको छैन ।” सांसद हुँदा पाँच वर्षसम्म जिल्लामा नफर्किनेसँग आफ्नो तुलना नहुने उहाँको भनाइ छ । गुल्मीवासी सबैलाई सो बारेमा हेक्का रहेको नेता विष्टले प्रष्ट पार्नुभयो ।  

एमालेको बहुमत देशको लागि आवश्यक रहेको भन्दै त्यहीअनुसार देशभर चुनावी माहौल बनेको विष्टले दाबी गर्नुभयो । गरिबी, बेरोजगारीबाट जनतालाई माथि उठाउन अहिलेको चुनाव महत्त्वपूर्ण रहेको बताउँदै सही पार्टी र उम्मेदवारलाई छनौट गर्न सचिव विष्टले मतदातालाई आग्रह गर्नुभयो । पूर्वमन्त्री विष्टले एमालेले घोषणापत्रमा समावेश गरेका सबै कार्यक्रमहरू पूर्ण कार्यान्वयनमा आउने दाबी पनि गर्नुभयो ।