• १४ असार २०८१, शुक्रबार

स्रोत नखुलेको रकमसहित पक्राउ

blog

काठमाडौँ, कात्तिक १८ गते । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको रकमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारत नयाँदिल्ली घर भई ठमेलमा बस्ने कमलकान्त कुल्थिया, राजस्थान घर भई ताहाचल बस्ने किशन गोपाल र सप्तरी घर भई नक्साल बस्ने निर्मलकुमार अग्रवाल रहेका छन् । 

उनीहरूको साथबाट प्रहरीले ३१ लाख ८१ हजार ३८५ रुपियाँ बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरू हुन्डी कारोबारमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ ।

न्युरोडस्थित विशालबजारको अनुज सेन्टर र खिचापोखरीको जयदुर्गा ट्रेड इन्टरनेसनलबाट उनीहरू बुधबार दिउँसो पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो । हुन्डी कारोबार गरिरहेको भन्ने सूचना पाएपछि पक्राउका लागि टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।  

नेपाल राष्ट्र बैङ्क ऐन २०५८ अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ । यसैगरी नक्कली करारनामा बनाई चार करोड ५० लाख रुपियाँ ठगी गरेको अभियोगमा अपराध अनुसन्धान कार्यालयको टोलीले पर्सा वीरगञ्जका नौसाद अन्सारी र जाकिर हुसेन अन्सारीलाई नियन्त्रणमा लिएको छ । काठमाडौँको सोल्टीमोडबाट बुधबार दिउँसो पक्राउ परेका उनीहरूले एक व्यक्तिको नाममा रहेको जग्गा देखाएर किर्ते करारनामा बनाई ठगी गरेको प्रहरीले जनाएको छ ।

नक्कली कागजपत्र तयार गरी तीन जनाको रकम ठगी गरेको उजुरीपछि उनीहरू पक्राउ परेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।