• ११ असोज २०८१, शुक्रबार

भारतद्वारा सवारीसाधन सहयोग

blog

काठमाडौँ, कात्तिक १८ गते । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रयोजनका लागि भारत सरकारले निर्वाचन आयोगलाई ८० वटा सवारीसाधन प्रदान गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार सवारीसाधन हस्तान्तरण गर्नुभयो ।

सवारीसाधन हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले सहयोगका लागि भारत सरकार तथा भारतीय राजदूत श्रीवास्तवलाई धन्यवाद दिनुभयो । नेपाल र भारतबीच लामो समयदेखि रहेको मित्रताबारे उल्लेख गर्दै उहाँले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, द्विपक्षीय सहयोग र सहकार्यमा आधारित भएको बताउनुभयो ।

आवधिक निर्वाचन लोकतान्त्रिक प्रणालीलाई जीवित राख्न अपरिहार्य भएको उल्लेख गर्दै थपलियाले विभिन्न समयमा भारत सरकारले दिएको सवारीसाधन, निर्वाचन सामग्री तथा अन्य आवश्यक सहयोगका लागिसमेत धन्यवाद दिनुभयो ।

भारतीय राजदूत श्रीवास्तवले नेपाल सरकार र निर्वाचन आयोगको आग्रहमा भारत सरकारले सवारीसाधन सहयोग गरेको बताउँदै छिमेकी देशको नाताले निर्वाचन प्रक्रियामा सहयोग गर्न पाउनु खुसीको कुरा भएको उल्लेख गर्नुभयो । भारत सरकारको सहयोगले आयोगलाई निर्वाचन सम्पन्न गर्न थप सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

समारोहमा निर्वाचन आयोगका आयुक्तहरू रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी, प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलसमेतको उपस्थिति थियो ।