• ११ मंसिर २०८१, मङ्गलबार

डुबानमुक्त गराउनेलाई मत : नरैनापुरवासी

blog

बाँकेको नरैनापुर । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, कात्तिक १७ गते । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकाका अधिकांश मतदाताले डुबानमुक्त बनाउने र सिचाइँ तथा खाद्यान्न उपलब्ध गराउने उम्मेदवारलाई मात्र मतदान गर्ने बताएका छन् ।  

खडेरीका कारण यस वर्ष सो क्षेत्रमा सुख्खा परेकाले खाद्य सङ्कट भएको, सिचाइँको सधै अभाव रहनेगरेको स्थानीयको भनाइ छ । डुबानबाट बर्सेनि ठूलो क्षति हुनेगरेकाले गाउँवासीको माग पूरा गराउने उम्मेदवारलाई मतदान गर्ने नरैनापुर ६ का रमेश यादवले बताउनुभयो ।  

‘खडेरी र डुबानले पीडित नरैनापुरवासीलाई यतिबेला चुनावभन्दा खाद्यान्न जोहो गर्नेमा चिन्ता छ’ उहाँले भन्नुभयो, “जनताका यी चिन्ता पूरा गर्नेलाई मात्र मतदान गरिनेछ ।” आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न पार्टीका तर्फबाट उम्मेदवार बनेका नेता तथा कार्यकर्ता नरैनापुरमा पुगेका बेला स्थानीयले आफ्ना पीडा सुनाउने गरेका छन् । 

नरैनापुर गाउँपालिका –१ कटकुइँया निवासी प्रमोद मिश्राले सुक्खाग्रस्त नरैनापुरमा खाद्यान्नको व्यवस्था, सिँचाइ तथा डुबानमुक्त गराउने नेतालाई भोट दिने बताउनुभयो । वर्षौदेखि यस क्षेत्रका जनताले डुबान, सुख्खा र बेरोजगारीजस्ता समस्या झेल्दै आएकाले यस पटक माग पूरा गर्नेलाई मत दिने सल्लाह भएको बताउनुभयो । 

यसैगरी नरैनापुर –३ का सलमान शेषले सुख्खाका कारण भोकमरीको समस्या सुरु भैसकेको पालिकामा निर्वाचनको उत्साह नदेखिएको बताउनुभयो । बाँके क्षेत्र १ बाट सत्ता गठबन्धनका नेकपा (माआवादी केन्द्र) का उम्मेदवार युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सडक र विद्युत् जस्ता ठूला समस्या समाधान गरिसकेकाले अन्य समस्या पनि समाधान गरिने बताउनुभयो । 

सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्यका उम्मेदवार माओवादीका कृष्णा केसीले विगतमा धेरै विकासका काम गराएको जनाउँदै आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो । खडेरी र बाढीको डुबानमा परेका नरैनापुरवासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने योजनासाथ अगाडि बढेका नेकपा (एमाले) बाट बाँके क्षेत्र १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्य ढकालले बताउनुभयो । 

समयमा पानी नपरेपछि धानबाली लगाउन नपाएर समस्या झेल्दै आएका नरैनापुरवासीलाई दैनिक छाक टार्न समस्या भैरहेको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले बताउनुभयो ।