• १२ साउन २०८१, शनिबार

डाँडैपिच्छे दर्शनटुप्पो

blog

हिले समाचारदाता      

हिले, कात्तिक १७ गते । धनकुटाको पर्यटकीय नगरी भेडेटारदेखि चौबिसेको जेफालेसम्म चारवटा भ्यु टावर (दर्शनटुप्पो) निर्माण भएका छन्। भेडेटारदेखि जेफालेसम्मको दूरी करिब २० किलोमिटर मात्र छ। यो २० किलोमिटरको दूरीमा करिब पाँच/पाँच किलोमिटरको अन्तरमा एउटा भ्यु टावर देख्न पाइन्छ। यी चारमध्ये तीनवटा त साँगरीगढी गाउँपालिकामै छन्।

साँगरीगढी गाउँपालिका–६ स्थित भेडेटार र वडा नं. ५ को ध्वजेडाँडा र ओख्रेमा भ्यु टावर निर्माण गरिएको छ। जेफाले भने चौबिसे गाउँपालिकामा पर्छ। पछिल्लो समय धनकुटाका डाँडाडाँडामा भ्यु टावर बनाउने क्रम बढ्दो छ। जिल्लामा जम्मा नौवटा भ्यु टावर निर्माण भएका छन्। यी भ्यु टावरमा १५ देखि ७५ लाख रुपियाँसम्म खर्च भएका छन्।

पहिले पर्यटन कार्यालय काँकडभिट्टा र तत्कालीन जिल्ला विकास समितिले भ्यु टावर निर्माण गर्ने गरेका थिए। अहिले भने स्थानीय तह भ्यु टावर निर्माण गर्न अग्रसर छन्। धनकुटाको ओख्रे, जेफाले, ध्वजे डाँडा र भेडेटारसहित धनकुटा नगरपालिकाको चुलिवन, हिले, शहीदभूमि गाउँपालिकाको छिन्ताङस्थित पातले डाँडा र पाख्रिबास नगरपालिकाको राम्चेडाँडा तथा डिकुरेमा पनि भ्यु टावर निर्माण गरिएको छ। 

त्यस्तै भेडेटारमा करिब दुई दशकअघि निर्माण गरिएको धनकुटाकै पहिलो भ्यु टावर २०७२ सालको भूकम्पले जीर्ण बनाएपछि त्यसलाई भत्काएर नयाँ निर्माण गरिएको छ। भेडेटारको भ्यु टावर पूर्वी पहाडकै पुरानो भ्यु टावर हो। धनकुटामा निर्माण भएका भ्यु टावरमध्ये भेडेटार र ओख्रेमा निर्माण गरिएको भ्यु टावरमा मात्र पर्यटक पुग्ने गरेका छन्। तीबाहेक अन्य भ्यु टावरमा पर्यटक पुग्दैनन्।

उच्च स्थानमा रहेको यस्ता डाँडाबाट धेरै स्थान देखिने भएकाले भ्यु टावरप्रति आकर्षण बढेको पर्यटक बताउँछन्। तर डाँडा आफैँमा एउटा प्राकृतिक दृश्यस्थल भएकाले सबै ठाउँमा कृत्रिम भ्यु टावर आवश्यक नहुने पर्यटन व्यवसायी बताउँछन्। “डाँडासम्म पुग्ने अन्य संरचना निर्माण गर्नुपर्छ। डाँडालाई घेरेर सुरक्षित गर्ने काम गर्नुपर्छ तर भ्यु टावरचाहिँ आवश्यक हैन,” होटल व्यवसायी खगेन्द्र विष्ट बताउनुहुन्छ। भ्यु टावरको साटो अन्य संरचना निर्माण गर्न उहाँको सुझाव छ।