• ११ मंसिर २०८१, मङ्गलबार

मुलुकमा समन्वयकारी नेतृत्वको खाँचो छ : प्रवक्ता महत

blog

बुटवलको कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, कात्तिक १६ गते । नेपाली कांग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक डा. प्रकाशशरण महतले मुलुकलाई समन्वयकारी राजनीतिक नेतृत्वको खाँचो रहेको बताउनुभएको छ ।  

नेपाली कांग्रेस चुनाव प्रचारप्रसार समिति अन्तर्गत गठित खेलकुद क्षेत्र समन्वय समितिले बुधबार बुटवलमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अहिलेको निर्वाचन व्यवस्थाको रक्षा गर्नेखालको उम्मेदवार जित्न आवश्यक रहेको उहाँले बताउनुभयो ।  

संविधान, प्राप्त उपलब्धि रक्षा गर्न तथा देशलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाउन कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन पनि उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले संविधान र व्यवस्थाको रक्षा गर्दै युवालाई शिक्षा र रोजगारीको ग्यारेन्टी कांग्रेसले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अर्का केन्द्रीय सदस्य उमेशजंग रायमाझीले शान्ति र भयरहित समाज निर्माणका लागि पनि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । रुपन्देहीको क्षेत्र नं. २ मा कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा जनमुक्तिका केन्द्रीय कार्यकारी अध्यक्ष केशवबहादुर थापा तथा प्रदेश सभा (क) मा कांग्रेसका युवा नेता दीर्घबहादुर (कुमार) केसी र प्रदेश सभा (ख) मा माओवादी केन्द्रका नेता बामदेव क्षेत्री उम्मेदवार हुनुहुन्छ । 

प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार केशवबहादुर थापाले गठबन्धनका उम्मेदवारले जित्नुपर्ने बताउनुभयो । यस अगाडिको संसदमा जनमुक्ति संसद् बाहिर भए पनि एमालेको सर्वसत्तावाद शैलीको सधैँ विरोध गरिरहेको भनाइ राख्नुभयो । सत्ता गठबन्धनसँग अहिले मात्रै नभएर भविष्यमा पनि सहकार्य गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । 

त्यस्तै, प्रदेश सभा (क) का उम्मेदवार कांग्रेसका युवा नेता केसीले अहिलेसम्म खेलकुद क्षेत्रलाई उपेक्षा गरिएको बताउँदै आगामी दिनमा खेलकुद क्षेत्रलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस क्षेत्रमा रङ्गशाला बनाउने प्रतिबद्धता व्यक्त गर्दै अन्य खेलकुदका पूर्वाधार निर्माण तथा खेलाडीलाई व्यावसायिक विकास गर्न पहल गर्ने बताउनुभयो । 

यहाँका मतदाताको आवश्यकताअनुसार काम गर्ने बताउँदै त्यसमा आफू पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । उम्मेदवार केसीले भन्नुभयो, ‘यहाँका जनताको मनोभावनाअनुसार काम गर्नेछु ।’ अर्को निर्वाचनमा राम्रो काम गर्न सकेमा प्रतिनिधि सभामा जाने र यो स्थानमा युवालाई नेतृत्व हस्तान्तरण गर्ने पनि बताउनुभयो । कांग्रेस निर्वाचन प्रचार प्रसार समिति खेलकुद क्षेत्र समन्वय उपसमितिका संयोजक कर्माछिरिङ शेर्पा, कांग्रेस महाधिवेशन प्रतिनिधि रित्ता सेन वली, प्रचारप्रसार समितिका सहसंयोजक शुभराज बस्नेत लगायतले धारणा राख्नुभयो ।