• २१ असार २०८२, शनिबार

भट्टराई र मगरलाई स्पष्टीकरण

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १६ गते । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेश भट्टराई र बिना मगरलाई स्पष्टीकरण सोधेको छ । दुवै जनालाई २४ घण्टाभित्र निर्वाचन आयोग वा प्रदेश निर्वाचन कार्यालयमा स्पष्टीकरण पेस गर्न भनिएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले) का उम्मेदवार योगेश भट्टराईलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र कञ्चनपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका लागि नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बिना मगरले पनि २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको भन्दै स्पष्टीकरण सोधेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।  

उहाँका अनुसार भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्घा गाउँपालिका वडा नं ३ सिकैचामा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी २५ जनाभन्दा बढीको भेला गरेको थियो । सो विषय फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेको थियो । मगरले निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा निर्वाचन आचारसंहिता विपरीत हुनेगरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र उक्त विषय आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।  

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (ख) मा “स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न नहुने” र खण्ड (ण) मा “निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचार प्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने” व्यवस्था छ ।