काठमाडौं, कात्तिक १६ गते । निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिताभित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरुको ध्यानाकर्षण गराएको छ । आयोजले भित्तेलेखन गर्न निषेधदेखि झण्डा र चुनावचिन्हको आकार निर्धारण, १० भन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न रोक, आमसभा र कोणसभाको खर्च विवरण ७ दिनभित्र पेस गर्नुपर्ने जस्ता मापदण्ड तय गरेको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कात्तिक १७ गते बिहीबारदेखि राजनीतिक दलहरुले गर्ने आमसभा, कोणसभा तथा अन्य प्रचारप्रसारका गतिविधि गर्दा पालना गर्नुपर्ने आचरणको विषयमा आयोगले पुनः ध्यानाकर्षण गराएको हो ।
निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहनुभएका आयुक्त रामप्रसाद भण्डारीले प्रचलित कानुन, निर्वाचन ऐन, नियम र निर्वाचन आचारसंहिता प्रतिकूल हुनेगरी सभा, समारोहहरु नगर्न आग्रह गर्नुभयो । राजनीतिक दलहरुले अर्काको कार्यक्रम बिथोल्न लागेमा र अर्कालाई आरोप–प्रत्यारोप गरेमा कारबाहीको भागिदार हुने पनि उहाँले स्पष्ट पार्नुभयो ।
आयुक्त भण्डारीले राजनीतिक दलहरुले आमसभा गर्न लागेको कुरा २४ घण्टा अगावै स्थानीय प्रशासनलाई जानकारी दिनुपर्ने प्रावधानलाई कडाइका साथ पालना गर्न पनि सचेत गराउनुभयो । आयोगले व्यक्ति विशेषलाई लाञ्छना लगाउने प्रयोजनले कुनै पनि शब्द उच्चारण नगर्न, प्रचारप्रसार गर्ने क्रममा लोगो, स्टिकर लगाएको कपडा, टोपी, क्याप, ज्याकेट, कमिज, गम्छा, झोलालगायतका निर्वाचनसँग सम्बन्धित दलको चिन्ह प्रयोग भएका सामग्रीहरु प्रयोग नगर्न पनि सचेत गराएको छ ।
आयुक्त भण्डारीले निर्वाचन आचारसंहिताले तोकेको ढाँचामा मात्रै पर्चा तथा पम्प्लेट बनाउन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘कुन दलको कुन ठाउँमा कसरी आमसभा गर्ने भन्ने कुरा २४ घण्टा अगावै स्थानीय प्रशासनलाई जानकारी दिने । स्थानीय प्रशासनलाई जानकारी दिइसके पछाडि, एउटा दलले कुनै कार्यक्रम गर्ने ठाउँ हो भने अर्को दलले त्यहाँ कार्यक्रम जुधाउनुभएन । अत्यन्त सभ्य, अनुशासित र भद्रसँग आफ्नो कार्यक्रम सञ्चालन गर्नुपर्यो । व्यक्ति विशेषको घर नजिकै र व्यक्ति विशेषलाई लाञ्छना लगाउने प्रयोजनले कुनै पनि शब्द उच्चारण गर्नु भएन । राजनीतिक दलहरुले आमसभा, कोणसभा, र्याली गर्दा कुन कुन शर्त पालना गर्नुपर्छ भन्दाखेरी, आफ्नो दलको प्रचारप्रसारको सन्दर्भमा लोगो, स्टिकर लगाएको कपडा, टोपी, क्याप, ज्याकेट, कमिज, गम्छा, ब्यागलगायतका निर्वाचनसँग सम्बन्धित दलको चिन्ह प्रयोग भएका यस्ता सामग्रीहरु त्यहाँ प्रयोग गर्नु भएन ।’’
उहाँले भन्नुभयो,‘‘आयोगले निर्वाचन आचारसंहिताले जुन ढाँचा तोकेको छ, त्यो ढाँचामा पर्चा, पम्प्लेट बनाउनुपर्यो र निर्वाचन प्रचारप्रसार गर्नुपर्यो । एउटा दलले कार्यक्रम गर्दा अर्को दलको कार्यक्रमलाई प्रतिकूल असर पारिदिनु भएन । कार्यक्रम बिथोल्नेलगायत अरुलाई आरोप, प्रत्यारोप लगाउने विषयले असर पर्यो भने त्यो कारबाहीको विषयवस्तु हुन्छ । प्रचलित कानुन प्रतिकूल, निर्वाचन ऐन, नियम प्रतिकूल, आचारसंहिता प्रतिकूल काम गर्नुहुन्न ।’’
आयोगले सार्वजनिक स्थलहरुमा पार्टीको झण्डा तथा पर्चा, पम्प्लेटहरु राख्न नपाउने, कुनै पनि कार्यक्रम गर्दा १० वटाभन्दा बढी झण्डा प्रयोग गर्न नपाइने पनि जनाएको छ । आयुक्त भण्डारीले प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्षतर्फका र समानुपातिकका उम्मेदवारहरुले तोकिएभन्दा बढी सवारी साधन प्रयोग गर्न नहुनेसमेत स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो,‘‘ सवारी साधन कसले कतिवटा प्रयोग गर्न पाउने भन्ने पहिले भनिसकेका छौँ । तोकिएको सीमाभन्दा बाहिर गर्न पाउनुहुन्न । सयौँ बस लिएर आमसभा गर्नुहुन्न भन्ने आयोगको विश्वास छ । बस, ट्रक, मिनीटाटा, ठेलागाडा, ट्रयाक्टरलगायतका सवारी साधनको प्रयोग गरेर त्यसमा पर्चा पम्प्लेट टाँसेर, त्यसको अगाडि झण्डा राखेर प्रचारप्रसार गर्न पाइँदैन, आचारसंहिताले निषेध गर्छ ।’’
निर्वाचन आयुक्त भण्डारीले सरकारी लाभको पदमा बसेर उम्मेदवार हुन र निर्वाचन प्रचारप्रसारमा सरिक हुन नपाउने भन्दै कोही त्यसरी सरिक भएको देखेमा आयोगलाई सूचना दिन आग्रह गर्नुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै लाभको पदमा बसेर उम्मेदवार बनेको अवस्थामा निर्वाचनको दिनसम्म पनि मनोनयन पत्र खारेज हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘‘यदि लाभको पदमा कोही बसेर निर्वाचन प्रचारप्रसारमा सरिक हुनुभएको छ, अथवा उम्मेदवार भएर निर्वाचन प्रचारप्रसार गरिरहनुभएको छ भने उहाँहरुको यस्तो लाभको पदमा रहेर उहाँहरुले उम्मेदवारी दिनुभयो, यो उम्मेदवारीको सम्बन्धमा काहीँ पनि उजुरी परेन अनि अहिले प्रचारप्रसार गरिरहनुभएको छ भनेर हामीलाई सूचना दिनुस् । यसको कारबाहीको प्रक्रिया जहिल्यै पनि खुला रहन्छ । यदि त्यस्तो प्रमाणित भएमा उहाँहरुको निर्वाचनको दिनसम्म पनि मनोनयन पत्र खारेज हुनसक्छ ।’’
निर्वाचन आयोगले निर्वाचन जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्न सबैमा आग्रह गरेको छ ।