• १२ साउन २०८१, शनिबार

निर्वाचन सुरक्षाका लागि सीमा क्षेत्र अनुगमन

blog

रङ्गेली समाचारदाता

विराटनगर, कात्तिक १६ गते । मोरङमा स्थानीय प्रशासनले सीमावर्ती क्षेत्रको अनुगमन सुरु गरेको छ। निर्वाचन लक्षित सुरक्षा योजना र निर्वाचन व्यवस्थापनको आवश्यक तयारीका लागि मोरङका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले सीमा क्षेत्र अनुगमन गरेको हो। 

प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार विराटनगर, जहदा, धनपालथान र रङ्गेलीमा पर्ने सीमा क्षेत्रको मङ्गलबार अनुगमन गरिएको छ। मोरङको दक्षिणवर्ती क्षेत्रका मतदान केन्द्रलाई अति संवेशनशील सूचीमा राखिएको छ। सीमा नाका भएका स्थानीय तहमा नेपाल–भारत संयुक्त सीमा सुरक्षा समितिको सहभागितामा निरीक्षण गरिएको छ। 

आपराधिक गतिविधि र सीमाबाट हुने अवैध गतिविधि रोक्न भारतीय सीमा सुरक्षा बलसँग स्थानीय प्रशासनले सहयोग समेत मागेको छ। प्रमुख जिल्ला अधिकारी दाहालले निर्वाचनलाई लक्षित गर्दै अब निरन्तर सीमा गस्ती परिचालन गरिने र त्यसका लागि भारतीय सुरक्षा निकायसँग सहजीकरणका लागि आग्रह गरिने बताउनुभयो। मोरङमा नेपाल–भारत सीमा क्षेत्रले ६३ किलोमिटर दूरी समेट्छ।  

निर्वाचन लक्षित निरीक्षणमा मोरङका दक्षिणवर्ती क्षेत्रका मतदान केन्द्र र स्थलहरूको समेत अवलोकन गरिएको छ। प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार मतदान केन्द्रको सुरक्षा व्यवस्थाका लागि आवश्यक व्यवस्थापनको विषयमा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरिएको छ। त्यसबाहेक मतदानस्थलको पहुँच मार्गको रेखाङ्कनसमेत गरिएको छ। 

स्थानीय तहका जनप्रतिनिधिसँग मतदान केन्द्रसम्म पुग्ने सडकको अवस्था र सुधार गर्नुपर्ने भए तत्काल खाल्टाखुल्टी पुर्ने विषयमा समेत छलफल गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो। आपत्कालीन अवस्थामा सुरक्षा संयन्त्रले सहज रूपमा मतदान केन्द्रसम्मको पहुँचका लागि निर्वाचन लक्षित सबै तयारीका बारेमा स्थानीय तह र नागरिकसँग समेत परामर्श गरिएको हो। 

यसैगरी मतदान केन्द्रको अवस्था निरीक्षण गरेर त्यसको व्यवस्थापनका लागि सुरक्षामैत्री योजना बनाउन स्थानीय प्रहरी एकाइ र स्थानीय तहका जनप्रतिनिधिबीच समन्वय गर्नका लागि आग्रह गरिएको छ। यसका लागि त्यहाँको भौगोलिक वस्तुस्थिति, मतदान केन्द्र परिसरको अवस्था अध्ययन, थप मद्दतमा पुग्नुपर्ने सुरक्षा टोलीको रुट लगायतको पहिचान र रेखाङ्कन गरिने भएको छ। 

मोरङमा ३०६ मतदानस्थल र ८३९ मतदान केन्द्रमध्ये ५० अति संवेदनशीलमा राखिएको छ। मोरङमा १४४ संवेदनशील र ११२ सामान्य रहेका छन्। यीमध्ये विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्रका नौवटा स्थल, रङ्गेली, धनपालथान, रतुवामाई, सुनवर्षी र केराबारीमा बढी रहेका छन्।

निरीक्षण टोलीमा प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, मोरङ प्रहरीका प्रमुख शान्तिराज कोइराला, सशस्त्र प्रहरी बलका एसपी राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धान मोरङ प्रमुखसहितको सहभागिता थियो।