• ११ मंसिर २०८१, मङ्गलबार

गुल्मीमा दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुने

blog

जिल्ला प्रहरी कार्यालय गुल्मी । तस्बिर : गोरखापत्र

तिलाचन पाण्डे

तम्घास, कात्तिक १६ गते । मङसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको लागि गुल्मीमा दुई हजार पाँच सय सुरक्षाकर्मी खटिने भएका छन् । 

निर्वाचनलाई स्वच्छ मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न लागि एक हजार ४६० जना म्यादी प्रहरी, एक हजार ४० जना नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिनुभयो ।

यसका साथै आवश्यक परेमा थप सुरक्षाकर्मीहरुको पनि प्रबन्ध मिलाइएको उहाँको दावी छ । निर्वाचनलाई शान्तीपूर्ण तरिकाले सम्पन्न गर्न जिल्ला सुरक्षा समिति सक्षम रहेको भन्दै ढुक्क भएर मतदान गर्न  मतदाताहरुलाई पौडेलले आग्रह गर्नुभयो ।

गुल्मीका ३५ वटा मतदान स्थल अति संवेदनसील रहेको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ । यस्तै ६७ वटा मतदान स्थलहरु संवेदनसील र ४० वटा मतदान स्थलहरु सामान्य रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

संबेदनशिल स्थलहरुमा  सुरक्षा लगायत अन्य हिसावले पनि सबै प्रबन्ध मिलाइएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिनुभयो । मतदान स्थलहरुलाई बर्गिकरण गर्दा भुगोल,यातायात, जिल्लागत सीमा लगायतका बिषयहरुलाई आधार मानेर बर्गिकरण गरिएको हो ।

जिल्लामा कुल दुई लाख २३ हजार ६१५ मतदाता रहेका छन् । दुई नगरसहित १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको जिल्लामा १४२ मतदान स्थल र २७८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।